डा केसीको माग तत्काल सम्बोधन गर्न पूर्वराष्ट्रपतिको माग - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

डा केसीको माग तत्काल सम्बोधन गर्न पूर्वराष्ट्रपतिको माग



काठमाडौं–पूर्वराष्ट्रपति डा.रामवरण यादवले वरिष्ठ चिकित्सक गोविन्द केसीको मागलाई वार्तामार्फत छिटो समाधान गर्ने कुरामा संवेदनशील भइदिन सरकारसँग आग्रह गरेका छन् । पूर्वराष्ट्रपति यादवले वरिष्ठ चिकित्सक केसीको माग तत्काल समाधान भए त्यो जनताको हितमा हुने र उनको जीवनको पनि रक्षा हुने स्पष्ट पारेका हुन् ।

सोमबार शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि उनले सञ्चारकर्मीमाझ नागरिकको जीउ, धनको सुरक्षा गर्ने दायित्व सरकारले भएको पनि स्मरण गराए ।

वरिष्ठ चिकित्सक केसीले पछिल्लोपटक आमरण अनसन सुरु गरेको २४ औं दिन पुगेको छ । चिकित्सक समेत रहेका पूर्वराष्ट्रपति यादवले केसीको स्वास्थ्य अवस्था संवेदनशील भएकाले सो समस्या समाधान गर्न ढिलाई गर्न नहुनेमा पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

पूर्वराष्ट्रपति यादवले सरकारले जुम्लामा अनसनरत डा.केसीलाई काठमाडौंमा ल्याएकोमा भने खुसी व्यक्त गरे । वरिष्ठ चिकित्सक केसीको माग जायज भएकाले पनि सरकारले सो समस्या समाधान गर्न ढिलाई गर्न नहुने पूर्वराष्ट्रपति यादवको भनाई छ ।