विमान चार्टर्ड गरेर नेपाल फर्किन लागेका वर्षमान पुनको चर्को आलोचना - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

विमान चार्टर्ड गरेर नेपाल फर्किन लागेका वर्षमान पुनको चर्को आलोचना



काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आज स्वदेश फर्कने भएका छन् । सोमवार साँझ ८ बजे उनी चीनबाट फर्किने उनको स्वकीय सचिवालयले जनाएको छ ।

गत असोजमा उपचारका लागि थाइल्यान्ड गएका उनी थप उपचारका लागि उतैबाट चीन गएका थिए । स्वास्थ्यलाभ गरी नेपाल फर्किन लागेका पुन यतिबेला सामाजिक सञ्जालमा चर्को आलोचनाको शिकार बनेका छन् ।

उनी चीनबाट चार्टर्ड प्लेनमा नेपाल फर्किने समाचार सार्वजनिक भएपछि उनको आलोचना चुलिएको हो । सर्वाहारा वर्गको प्रतिनिधित्व गर्दै राजनीति गर्ने पुन उपचारका लागि थाइल्याण्ड जाँदासमेत चार्टड प्लेनमै गएका थिए ।

जण्डिस सम्बन्धी समस्या बल्झिएपछि पुन उपचार गर्न गत असोज १३ गते थाइल्याण्डको बैंकक गएका थिए । त्यहाँ उल्लेख्य सुधार नभएपछि उनलाई उतैबाट गत मंसिर दोस्रो हप्ता चीनको थर्ड पिपुल्स अफ हस्पिटल सेन्जेन लगिएको थियो ।

चीनमा उपचाररत रहँदा उनले केही राजनीतिक भेटघाटसमेत गरेका थिए । यता नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहँदा उनले उता राजनीतिक भेटघाट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पुन माओवादी केन्द्रको महासचिवका आकांक्षीसमेत हुन् ।

पुन नेपाल फर्किन ढिलाइ भएपछी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पदाधिकारीबारे छिनोफानोसमेत गरेका छैनन् ।

आज पुन चार्टर विमानमार्फत नेपाल आउन लागेको समाचार बाहिरिएपछि चारैतिरबाट उनको उनको चर्को आलोचना भएको हो । धेरैले पुनको आर्थिक हैसियतका बारेमा प्रश्नसमेत उठाएका छन् ।

स्वास्थ्यमा धेरै नै समस्या देखिएपछि बिरामीलाई प्लेन चार्टर्ड गरेर अस्पताल लैजानुलाई मानवीयता भन्न सकिएपनि निको भएर नेपाल फर्किन लागेका पुनले चार्टर्ड प्लेनमै फर्किने अलोकप्रिय निर्णय लिएका हुन् ।

उनको सचिवालयले भने औषधिजन्य सामग्री ढुवानीका लागि जाने कार्गो फ्लाइटबाट स्वदेश फर्किन लागेको जनाएको छ ।

‘माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री आदरणीय कमरेड वर्षमान पुन ‘अनन्त’ आज साँझ स्वदेश फर्कदै हुनुहुन्छ । उहाँ औषधिजन्य सामाग्री ढुवानीका लागि जाने (कार्गो फ्लाइट) हिमालयन एयरलाइन्सको जहाजमा चीनबाट स्वदेश फर्कनुहुनेछ,’ सचिवालयले भनेको छ ।

हिमालयन एयरलाइन्सको उक्त जहाज भने चार्टर्ड गरेरै चीन लगिएको हो । निजि व्यापारीले सोही प्लेनमा औषधिजन्य सामग्री ल्याउन लागेको एयरलाइन्स स्रोतले जनाएको छ ।