उर्जामन्त्री पुनकोे कर्मचारीलाई निर्देशन !
काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
आर्थिक वर्ष २०७४–७५ को दोस्रो चौमासिक प्रगति समिक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री पुनले मन्त्रालय अन्तर्गतका राष्ट्रिय आयोजना समयमै सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।
नीतिगत तहका कर्मचारी सहभागी उक्त बैठकमा मन्त्री पुनले राष्ट्रिय गौरवका आयोजना समयमै पुरा नभएको गुनासो बढ्दै गएको समयमा अब कुनै पनि बाहानामा विकासका आयोजना रोकिन नहुने बताए ।
उनले मन्त्रालयमा भएको समस्या समन्वयात्मक ढङ्गबाट समाधान गरेर अगाडि बढ्ने बताए । उनले भने, ‘राष्ट्रिय गौरवका आयोजना रोकिनु भएन ।
बजेटको समस्या भए मन्त्रालयबाट समाधान हुन्छ ।’ मन्त्री पुनले आयोजना समयमै सम्पन्न गर्दा आउने समस्या आफुलाई सिधै बताउन आग्रह गर्दै अन्य बाहानामा आयोजनामा ढिलासुस्ती नगर्न निर्देशन दिए ।
‘काममा समस्या पर्दा सिधै मलाई भन्दा हुन्छ । समस्याको हल मन्त्रालयबाट हुन्छ । उनले भने, ‘अन्य बाहानामा काम रोकिनु हुँदैन ।’ मन्त्री पुनले अबको समय मुलुकको विकाश र समृद्धि भएकाले यसमा सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।