कानुनकै खिल्ली उडाउँदै ऊर्जामन्त्री पुनले गरे नियुक्ति - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

कानुनकै खिल्ली उडाउँदै ऊर्जामन्त्री पुनले गरे नियुक्ति



काठमाडौं- ऊर्जामन्त्री वर्षमान पुनले कानुन मिचेर विद्युत प्राधिकरण संचालक सदस्य नियुक्ति गरेका छन् । कानुनसंग नमिल्ने र स्वार्थ बाझिने गरी सञ्चालक नियुक्त गरेपछि प्राधिकरणमा खैलाबैला मच्चिएको छ ।

मन्त्री पुनले हिमालय ऊर्जा विकास कम्पनीका संचालक कपिल आचार्यलाई प्राधिकरणको संचालकमा नियुक्ति गरेर कानुनकै खिल्ली उडाएका छन् ।

प्राधिकरणसँग विद्युत खरिद बिक्रीको सम्झौता गरेको हिमालय ऊर्जा विकास कम्पनीकै संचालक आचार्यलाई मन्त्री पुनले प्राधिकरण सञ्चालक समिति सदस्य नियुक्त गर्नु प्राधिकरण ऐन २०४९ विपरित भएको प्राधिकरण स्रोतले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण ऐन २०४९ मा ‘प्राधिकरणसँग भएको कुनै ठेक्का पट्टामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले हिस्सेदार भएको’ व्यक्ति प्राधिकरण सञ्चालक समिति सदस्य बन्न अयोग्य हुने उल्लेख छ। तर मन्त्री पुनले प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता गरेको कम्पनीका प्रतिनिधिलाई नै सञ्चालक समितिमा ल्याएका छन्।

हिमालय ऊर्जा विकास कम्पनी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको हो। कम्पनीको वेबसाइटमा अहिले आचार्यको ‘स्टाटस’ प्रोजेक्ट इन्जिनियर उल्लेख छ। तर आचार्यले सामाजिक सञ्जाल लिंक्ड इनमा आफू यो कम्पनीको सञ्चालकको रूपमा गत वर्ष पुसबाट कार्यरत रहेको उल्लेख गरेका छन्।

मन्त्री पुनले बिहीबार आचार्यलाई प्राधिकरण सञ्चालक समिति सदस्य नियुक्त गरेका थिए। यसैगरी भक्तबहादुर पुनलाई पनि सञ्चालकमा दोहोर्‍याइएको छ।