नेइमारसहितको पिएसजी लिभरपुलसँग पराजित - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

नेइमारसहितको पिएसजी लिभरपुलसँग पराजित



अघिल्लो सिजन उपविजेतामा सीमित भएको इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगको यो सिजनमा प्रभावशाली सुरुवात गरेको छ ।

च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत आफ्नो पहिलो खेलमा मंगलबार राति जर्गेन क्लोप्पको टिम लिभरपुलले फ्रेन्च च्याम्पियन पेरिस सेन्ट–जर्मेन, पिएसजीलाई ३–२ ले हरायो ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले स्टार खेलाडी नेइमारसहितको टिम पिएसजीलाई निराश पारेको हो । लिभरपुलको जितमा डानियल स्टरेज, जेम्स मिल्नर र रोबर्टो फिरमिनोले गोल गरे ।

यस्तै पिएसजीका लागि थोमस मुनियर र केलियन एमबाप्पेले गोल गरे । ३० औँ मिनेटमा स्टरेजको गोलबाट लिभरपुलले सुरुवाति अग्रता लियो । त्यसको ६ मिनेटपछि लिभरपुलले पेनाल्टी पायो, त्यसमा मिल्नरले गोल गरे र अग्रता दोब्बर बनाए ।

४० औँ मिनेटमा पिएसजीका लागि मुनियरले गोल गरेपछि पहिलो हाफमा खेल २–१ ले लिभरपुलको पक्षमा रह्यो । ८३ औँ मिनेटमा एमबाप्पेले पिएसजीका लागि बराबरी गोल फर्काए ।

तर लिभरपुलले अझै पनि हार मानेन । इन्जुरी समयको पहिलो मिनेटमा फिरमिनोले गोल गर्दै टिमलाई महत्वपूर्ण जित दिलाए ।

गएको शनिबार प्रिमियर लिग अन्तर्गत टोटनह्यामसँगको खेलमा आँखामा चोट लागेका फिरमिनो चोटमुक्त भएर मैदान फर्किए अनि टिमका लागि महत्वपूर्ण गोल गरेर जिताए । यो खेलमा विश्वका महंगा खेलाडी नेइमारले गोल गर्न सकेनन् ।

समूह सी अन्तर्गतकै खेलमा नापोली र रेड स्टार बेलग्राडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।