प्रिन्सिपल भुसाल मृत्यु प्रकरण : हत्यारालाई कारबाहीको माग राख्दै आजपनी प्रदर्शन
कैलाली । कैलालीको बिहानी क्षितिज विद्यालयका सञ्चालक तथा प्रिन्सिपल कृष्ण प्रशाद भुसालको हत्या भएको भन्दै यथाशीघ्र छानविनको माग गर्दै मसुरीयाका स्थानियहरुले आजपनि विरोध र्याली निकालेका छन् । निजी विद्यालयको संगठन (एनप्याव्सन) का केन्द्रीय उपाध्यक्ष समेत रहेका भुसाल बैशाख ११ गते राति घोडाघोडी नगरपालिका-१० मा मृत अवस्थामा भेटिएका थिए ।
घटनाको भएको १२ दिन बितिसक्दापनि छानबिन नभएको भन्दै विद्यालयका पूर्व विद्यार्थी तथा स्थानीयहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर, हत्यारा पत्ता लगाई कारबाही गर, हत्यारालाई फाँसी दे भन्दै मसुरिया , बढैपुर , राजिपुर लगायतका स्थानमा प्रदर्शन गरिरहेका पत्रकार घनश्याम पौडेलले जानकारी दिए ।
यता जिल्ला प्रहरी कार्यालय कैलालीले घटना बारे अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले भुसालको हत्या गरिएको भन्दै परेको किटानी जाहेरीका आधारमा ५ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।