प्रेरणाका पात्र छविलाल
प्रकाश मिश्र / घोडाघोडी ,कैलाली ।
विसं २०४३ मा कैलालीको पथरैयामा जन्मिनुभएका छविलाल चौधरी अहिले अपाङ्गता मात्रै होइन, शारीरिक रूपमा तन्दुरुस्त व्यक्तिका लागि प्रेरणाका पात्र बन्नुभएको छ ।
शारीरिक रूपमा अशक्त भए पनि आफूमा भएको सीपको प्रयोग गरेर अहिले उहाँले राम्रो आम्दानी गर्नुभएको छ । अत्यन्तै कमजोर आर्थिक अवस्था भएको घरमा माइला सन्तानका रुपमा जन्मिनुभएका छविलाल जन्मेदेखि अपाङ्गता भएका भने होइनन् । उहाँले भन्नुभयो, “म करिव २ वर्षको हुँदा मेरो जेठो दाइ विरामी हुनुभएको थियो अरे अनि आमाले मलाई पिठ्युमै वोकेर पथरैयाबाट मुनुवा, मुनुवाबाट फेरि पथरैया लिएर घरमा राखेदेखि मेरा दुवै खुट्टा चल्न छाड्यो अरे, आर्थिक अवस्था कमजोर थियो आमाबुबा अर्काको घरमा मजदुरी गर्नुहुन्थ्यो पैसा थिएन, त्यसैले उपचार गर्न सक्नुभएन ।”
आफुले अपाङ्गता भएका कारण समाजमा धेरै अपहेलना सहनु परेको उहाँले विगत सुनाउनुभयो । विगत सम्झिँदै उहाँले भन्नुभयो, “मुक्तकमैया शिविरको वातावरण सवैले काम गरेरपनि साँझ बिहान छाक टार्न समस्या दुवै खुट्टा काम नलाग्ने भएर जिउनु पनि सहज थिएन ।”
विसं २०७० मा प्रेम विवाह गरेपछि उहाँको जिवनलेओ भने अर्कै मोड लियो । कक्षा ८ सम्ममात्र पढाइ गर्नुभएका उहाँले श्रीमतीको सल्लाहमा बेतबाँसका सामाग्री वनाउने तालिम लिएपछि सहकारीबाट रु २५ हजार रुपैया ऋण निकालेर आफ्नै घरमै बेतबाँसका सामान वनाउन थाल्नुभयो । अहिले उहाँलाई बेतबाँसका सामान बनाउन भ्याइनभ्याई छ ।
उहाँले अहिले बेतबाँसका मुढा, फुल्दानी, चुरा स्टेण्ड, ¥याग, कुर्सी, टेबल, ह्याङ्गरलगायतका सामान बनाउने र त्यसलाई रु दुई सय ५० देखि रु तीन हजारसम्ममा बेच्ने गरेको बताउनुभयो । छविलाललाई उक्त सामान बनाउन उहाँकी श्रीमती ताराले पनि सघाउने गर्नुभएको छ । ताराले फुर्सदको समयमा माटाका खुत्रुके, घैटोलगायतका सामान बनाउने र यसबाट आफुहरुले मासिक रु ३० देखि ३५ हजार बचत गर्ने गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “बनाउन सक्ने हो भने धेरै नै कमाइ हुन्छ, तर के गर्नु बुढाबुढीले मात्र धेरै बनाउन सकेका छैनौँ ।” यस्तै उहाँहरुले माटाका सामान र बेतबाँसका समानसँगै बदाम बेच्ने कामसमेत गर्ने गर्नुहुन्छ । बदाममा पनि उहाँको व्यापार निकै राम्रो रहेको छ ।
व्हीलचियरमा राखेर बदाम १० किलोमिटर टाढासम्म बेच्न जाने गरेको छविलालले बताउनुभयो । छविलालले आफुजस्तै अपाङ्गता भएका व्यक्तिलाई सीप सिकाएर आफुजस्तै सक्षम वनाउने सोच पनि लिनुभएको छ । उहाँले हालै कस्मिर बेतबाँस पसल दर्ता गरिसक्नुभएको छ । उहाँले भन्नुभयो, “कोही कसैले पनि अपाङ्गता भएका कारणले पछि पर्न नपरोस् ।” पथरैया मुक्तकमैया शिविरमा जन्मे हुर्केका छविलाल अहिले घोडाघोडी नगरपालिका–१ स्थित मुक्त कमैया शिविरमा एक छोरा र श्रीमतीसँगै बस्दै आउनुभएको छ । “घरमा खानेकुरा नभएर भाकभोकै सुतेको मलाई याद छ , पैसा पनि नहुने र सरकारले मुक्त कमैयालाई उपलब्ध गराएको बलौटे जग्गामा खेती पनि नहुने भएर कैयाँै रात माड खाएर सुतेको थिए”, विगत सम्झिँदै छविलालले भन्नुभयो, “अहिले घरपरिवार राम्रै चलेको छ, खर्चको समस्या हुन्न ।”
लेखपढ गर्न नपाएको र आर्थिक अभावकाबिच हुर्किएको सम्झिँदै उहाँले छोरालाई कहिले पनि त्यस्ता समस्या पर्न नदिने बताउनुभयो । त्यही सोचका साथ उहाँले चार वर्षीय छोरालाई बोर्डिङ स्कुलमा भर्ना गर्नुभएको छ । रासस