मन्त्री प्रेम आलेले गरे कुलमान घिसिङको तारिफ
काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको तारिफ गरेका छन् । ढुवानीसम्बन्धी सम्झौता समारोहमा धराशायी बनेको नेपाल वायुसेवा निगमलाई उकास्न घिसिङको कार्यशैली अनुसरण गर्नुपर्ने बताउँदै मुक्तकण्ठले प्रशंशा गरे ।
सोमबार मन्त्रालयमा आयोजित विद्युतीय सामान आयातका लागि ढुवानीसम्बन्धी सम्झौता समारोहमा मन्त्री आलेले लोडसेडिङ अन्त्यका लागि कुलमानको व्यवस्थापनको तारिफ गरेका हुन् ।
‘हामीले अरुको नक्कल गर्नु जरुरी छैन तर करोडौं घाटामा रहेको प्राधिकरण अहिले करोडौं नाफामा पुगेको छ यो नै हाम्रो लागि एउटा उदाहारण हो अब नेपाल वायुसेवा निगमले पनि अनुसरण गर्नुपर्छ’, उनले भने ।
चुस्तदुरुस्त व्यवस्थापनमा योजनाबद्ध काम भए अझै पनि देशको नम्बर एक र विश्वभर सञ्जाल फैलाउन सक्ने सम्भावनामा निगम रहेको मन्त्री आलेको भनाइ छ । मन्त्री आलेले तत्काल नतिजामुखी काम गरेर देखाउन कर्मचारी र सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।