जसपाका सांसदले नै लिए कांग्रेसको क्रियाशील सदस्यता - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

जसपाका सांसदले नै लिए कांग्रेसको क्रियाशील सदस्यता



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सांसदले नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएको भेटिएको छ । जसपाबाट प्रदेश्सभा सदस्य बनेका प्रेम तामाङले काँग्रेसको क्रियाशील सदस्यता लिएका हुन् ।

यसअघि तामाङले माओवादी केन्द्रमा प्रवेश गर्ने चर्चा थियो । माओवादीमा प्रवेश गरेर बाग्मती प्रदेश सरकारमा मन्त्री बन्ने चर्चाका बीच तामाङले काँग्रेसको सदस्यता लिएपछि बागमती प्रदेशसभामा तरङ्ग पैदा भएको छ । कांग्रेसको १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा सोमबार सार्वजनिक गरिएको क्रियाशील सदस्यको लिष्टमा तामाङको नाम समेटिएको छ ।

कालिका गाउँपालिका-२ को क्रियाशील सदस्यताको लिष्टमा ८२ नम्बरमा उनको नाम समेटिएको छ । गत चुनावमा तत्कालीन नयाँ शक्तिबाट तामाङले रसुवाको प्रदेश ‘ख’ बाट जितेका थिए ।

कांग्रेससँग गठवन्धन गरेर चुनाव जितेका उनी त्यसयता अघोषित रुपमा काँग्रेस बनेपनि वैधानिक रुपमा भने पार्टी प्रवेश गरेका थिएनन् । सांसद पद जोगाउन आफू जसपामै बसेर उनले डेढ वर्षअघि नै आफ्ना नेता-कार्यकर्ता भने कांग्रेसमा पठाइसकेको चर्चा छ ।

उनले भित्री रुपमा आफूसहित १२ सय कार्यकर्ताको क्रियाशील सदस्यता लिन लगाएका छन् । सांसद तामाङकै कारण रसुवा काँग्रेसका नेताहरु दुईतिर बाँडिएका छन् । पुराना नेता-कार्यकर्तालाई माइनस गरेर अर्बपति माननीय मोहन आचार्य र जिल्ला सभापति पेम्बा तामाङ प्रेमसमूहलाई बढी क्रियाशील दिलाउन लागेपछि पुराना कांग्रेसी रुष्ट भएको बताइन्छ ।