अब प्रत्येक नेपालीको भागमा साढे ४२ हजार ऋण: ब्याज बढेको बढ्यै - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

अब प्रत्येक नेपालीको भागमा साढे ४२ हजार ऋण: ब्याज बढेको बढ्यै



काठमाडौं- नेपाल सरकारको ऋण दायित्व पौने १३ खर्ब रुपैयाँ पुगेको छ । सरकारको असार मसान्तसम्ममा आन्तरिक ऋण ६ खर्ब ६७ अर्ब रुपैयाँ र बाह्य ऋण ६ खर्ब १४ अर्ब रुपैयाँ पुगेको हो ।

सरकारले गत आर्थिक वर्षसम्म प्राप्त ऋण तथा भुक्तान गरेको साँवासमेत हिसाब गर्दा तिर्न बाँकी कुल ऋण १२ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको खबर आजको नयाँ पत्रिका दैनिकमा कृष्ण रिजालले लेखेका छन्।

तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या ३ करोड ३८ हजार पुगेको छ । कुल ऋणलाई जनसंख्यासँग तुलना गर्दा प्रत्येक नेपालीको भागमा ४२ हजार ६ सय रुपैयाँ सरकारी ऋण पुगेको छ । तर, यस्तो ऋण जनता आफैँले भने तिर्नुपर्दैन । सरकारले हरेक वर्ष बजेटमै व्यवस्था गरेर ऋणको सावाँ ब्याज भुक्तानी गर्ने गर्छ।

सरकारले तलब–भत्तालगायत अनिवार्य दायित्व पूर्ति गर्न तथा आफ्ना योजना र कार्यक्रम कार्यान्वयन गर्न राजस्व परिचालन गर्छ । राजस्व परिचालनबाट अपुग हुने रकम भने आन्तरिक तथा विदेशी (बाह्य) ऋणबाट पूर्ति गर्छ । जसअनुसार गत आर्थिक वर्ष ०७६/७७ मा सरकारले कुल २ खर्ब ८५ अर्ब ८७ करोड १२ लाख रुपैयाँ ऋण उठाएको थियो ।

आव ०७६/७७ मा सरकारले कुल १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण र २ खर्ब ९८ अर्ब ८३ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको थियो । सरकारले आन्तरिक ऋण लक्ष्यको नजिक अर्थात् १ खर्ब ९४ अर्ब ९० करोड २८ लाख रुपैयाँ उठाउन सक्यो । त्यस्तै, बाह्य ऋण भने लक्ष्यभन्दा निकै कम अर्थात् ९० अर्ब ९६ करोड ८४ लाख रुपैयाँ उठ्यो ।