प्रत्यक्ष निर्वाचित राष्ट्रपति : डा. भट्टराई - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

प्रत्यक्ष निर्वाचित राष्ट्रपति : डा. भट्टराई



काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा समृद्धि ल्याउनका लागि शासकीय प्रणालीमा सुधार र राजनीतिक नेतृत्वमा दृढ इच्छाशक्ति हुनुपर्ने बताएका छन्।

प्रतिनिधिसभा सदस्यसमेत रहेका डा. भट्टराईले बुधबार न्याय सेवा तालिम केन्द्रमा संघीय संसद सचिवालयका उपसचिवहरूलाई नेपालको विकास र समृद्धिबारे प्रशिक्षण दिने क्रममा उनले नेपालको शासकीय स्वरुप र राजनीतिक नेतृत्वमा रहेको इच्छाशक्तिमा परिवर्तन आए मात्र समृद्ध नेपाल सम्भव भएको बताएका हुन्।

उनले नेपाललाई पाँच वर्षमा निरपेक्ष गरिबि मुक्त, १० वर्षमा मध्यम आयस्तर र २० वर्षमा पहिलो विश्वको स्तरमा पुर्‍याउन सम्भव रहेको बताए। त्यसका लागि उनले केही सर्त प्रस्तुत गरेका थिए। जसको पहिलो नम्बरमा शासकीय स्वरूपमा परिवर्तन गरेर, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र भिजिनरी राजनीतिक नेतृत्व’, हुनुपर्ने उल्लेख गरेका छन्।

उनले संघीयताको सफल कार्यान्वयन र हिमाल, पहाड, तराई/मधेसका सबै जातिबीच सद्भाव र राष्ट्रिय एकता हुनुपर्ने, सबै क्षेत्रमा कडाइपूर्वक विधिको शासन पालना गराउनुपर्ने, भ्रष्टाचारीलाई सर्वस्वसहित जन्मकैद सजाय दिनुपर्ने, सबै नेपालीमा दह्रो देशभक्तिको भावना र कडा श्रम संस्कृति हुनुपर्ने र नेपालका दुवै छिमेकीको आर्थिक विकासको गतिसँग पदचाप मिलाउने दक्षता विकास गर्नुपर्ने उल्लेख गरेका छन्।