प्रधानन्यायाधीश जबराको प्रस्ताव बारद्वारा अस्वीकार
काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवादमा आउन गरेको आग्रहलाई नेपाल बार एसोसिएसनले अस्वीकार गरेको छ । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबराले संवादमा आउन भन्दै जारी गरेको विज्ञप्तिको कुनै अर्थ नरहेको बताए ।
उनले जबराको आह्वानलाई हिजोका राजाले अधिकार दियौँ भनेर निकालेका विज्ञप्तिसँग तुलना गरे । ‘जबराको विज्ञप्तिको कुनै अर्थ छैन । उहिले राजाले पनि लौ अधिकार दियौँ भनेर विज्ञप्ति निकालेकै हुन् यो त्यस्तै हो’, श्रेष्ठले भने ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले विज्ञप्ति जारी गर्दै आन्दोलनमा उत्रेको नेपाल बार एसोसिएसनसहित सरोकारवालालाई संवादमा आउन आह्वान गरेका थिए । उनले विग्रहको बाटो छोडेर संवादको मार्ग रोज्न आह्वान गरेका हुन् ।
पारस्परिकता र हार्दिकताको क्रम जहाँबाट टुटेको छ त्यहीँबाट समाधानको सम्भावना खोज्न सकिने उनकाे भनाइ छ । विधिको पक्षमा कर्तव्य निर्वाह गर्ने सिलसिलामा यदाकदा प्रश्नहरू उठ्दा त्यसलाई तत्काल सम्बोधन गर्दै बार एसोसिएसन र न्यायपालिकाबीच हातेमालो हुने गरेको पनि राणाले स्मरण गरेका छन् ।
‘पारस्परिकता र हार्दिकताको त्यो क्रम जहाँबाट टुटेको छ, त्यहिँबाट समाधानको सम्भावना खोज्न सकिन्छ । विधिको पक्षमा दृढतापूर्वक उभिँदै न्यायपालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं भनी पुनः सबैमा हार्दिक आह्वान गर्दछु’, राणाले भनेका छन् ।
उनले विगतमा विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिँडाउने प्रयासहरू कतैबाट हुँदा सम्पूर्ण न्यापालिका एकताबद्ध भएर सामना गर्दै आएको स्मरण गराएका छन् ।
‘न्यायपालिकाले सधैँभरि विधिको बाटोमात्र हिँड्नुपर्दछ भन्ने मान्यतालाई आत्मसात गरेको हुन्छ । विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिँडाउने प्रयासहरू कहिँ कतैबाट हुँदा सम्पूर्ण न्यायपालिका एकताबद्ध भइ आवश्यक आत्मावलोकनसहित सामना गर्दै आएको छ’, उनले भनेका छन् ।