परराष्ट्रका कर्मचारीले नेपाल-भारत बीच सीमा सम्बन्धमा गरिएका दस्तावेज लुकाए :नेता नेपाल
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले परराष्ट्र मन्त्रालयका कर्मचारीले भारत नेपालबीच सीमा सम्बन्धमा गरिएका पुराना दस्तावेजहरु लुकाएको आरोप लगाएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय समितिको बुधबार बसेको बैठकमा नेपालले सरकारका कर्मचारीबाट नै पुराना दस्तावेजहरु लुकाउने काम भएको दाबी गरेका हुन् ।
उनले कर्मचारीको नियत र मुलुकप्रतिको उत्तरदायित्वमाथि नै शंका व्यक्त गरे । राष्ट्रसेवक कर्मचारीहरुले अन्य देशको हितमा हुने गरी काम गर्नका लागि विभिन्न किसिमका सुविधा लिने गरेको सुन्नमा आएको भन्दै शंकास्पद कर्मचारीमाथि निगरानी बढाउन सरकारको ध्यानाकर्षण गराए ।
पूर्व प्रधानमन्त्री नेपालले कैलाली घटनाबारे सर्वत्र चर्चा भइरहँदा पनि सरकार र सम्बन्धित निकायबाट सम्बोधन नहुँदा जिम्मेवार व्यक्ति र संस्थाको देशभक्ति नै शंका उत्पन्न भएको टिप्पणी गरे ।