प्रकाशमान सिंह भन्छन्: संविधान र ऐनविपरित जानु हुँदैन - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

प्रकाशमान सिंह भन्छन्: संविधान र ऐनविपरित जानु हुँदैन



काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको मर्म र भावनाअनुसारनै सरकारले स्थानीय तहको निर्वाचन गराउनुपर्ने बताएका छन्।

निर्वाचन आयोगले संविधान र कानुनबमोजिम स्थानीय तह निर्वाचनको मिति प्रस्ताव गरिसकेकाले सरकारले पनि आवश्यक प्रक्रिया पुर्‍याएर निर्वाचनको मिति घोषणा गर्नुपर्ने उनले बताएका हुन्।

आफ्नो निर्वाचन क्षेत्रमा खोप कार्यक्रम निरीक्षण गर्न पुगेका नेता सिंहले भने,‘स्थानीय तहको निर्वाचनका लागि आयोगले मिति प्रस्ताव गरिसकेको छ। त्यसै आधारमा सरकारले पनि स्थानीय तहको मिति निर्धारण गर्दा राम्रो हुन्छ।’

संविधान र लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धन र सरकार बनेको बताउँदै उनले कुनै पनि हालतमा संविधान मिच्न नहुने जिकिर गरे।

‘यो सरकार नै विशेष अवस्थामा गठन भएको हो। तत्कालीन कम्युनिस्ट सरकारले संविधान उल्लंघन गर्न थालेपछि त्यसको रक्षाका लागि गठबन्धन सरकार बनेको हो,’ उनले भने, ‘त्यसैले यो सरकार संविधानको मर्म र भावनाविपरित जानुहुँदैन। कानुन संशोधन गर्नेभन्दा पनि अहिलेको संविधान र ऐनअनुसार काम गरेको राम्रो हुन्छ।’

फरक प्रसंगमा बोल्दै सिंहले एकीकृत बागमती आयोजनाले बागमती किनारमा स्थानीको प्रयासमा बनााएका पार्कहरू भत्काउन नहुने उल्लेख गरेका छन्।