प्रकाशमानको गुनासो: देउवाले गल्ती गर्छन्, जवाफ हामीले दिनुपरेको छ - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

प्रकाशमानको गुनासो: देउवाले गल्ती गर्छन्, जवाफ हामीले दिनुपरेको छ



काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष शेरबहादुर देउवाले गल्ती गर्दै हिंडेर आफूहरूले जवाफ दिनुपरेको बताएका छन् । उनले पार्टी नेतृत्वको पटकपटकको गल्तीमा आफूहरूले जवाफ दिनुपरेको भन्दै गुनासो गरेका छन् ।

उनले देउवालाई आईजीपी प्रकरण र तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाएको महाअभियोग नबिर्सन आग्रह गरेका छन् ।आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले ०७४ सालको चुनावअघि घटेका दुई घटनाले कांग्रेस निर्वाचनमा पराजित भएको स्मरण गरे ।

८८ दिनपश्चात् सरकारले पूर्णता पाए पनि त्यसपछि उठेका गम्भीर प्रश्नले कांग्रेसलाई पुनः कमजोर बनाउने उनले बताए ।

पार्टीभित्रका केही मान्छेहरूका गलत कार्यको मूल्य सिंगो पार्टीले चुकाउनुपर्ने भन्दै सिंहले आक्रोश पोखे । “गल्ती एकजनाबाट हुन्छ, त्यसको मूल्य सिंगो पार्टीले चुकाउनुपर्ने हो,” उनले भने, “पदमा बस्ने जे मनलाग्यो त्यो गर्ने, जनतामा चाहिँ हामीले जवाफ दिँदै ढाकछोप गर्नुपर्ने ?”

नेता सिंहले वर्तमान संसदीय मूल्य–मान्यताअनुसार संसद् नचले विकल्पमा जानुपर्ने धारणा राखे । संसद् प्रभावकारी बन्न नसके ‘फ्रेस इलेक्सन’मा जानुपर्नेमा सिंहको जोड थियो । त्यसका लागि तोकिएको मितिमा पार्टीको महाधिवेशन सम्पन्न गरिनुपर्ने उनले उल्लेख गरे ।

यस्तै नेता सिंहले पार्टीभित्र आफूलाई समाप्त पार्न नियोजित समूह सक्रिय भएको भन्दै दुःखेसो पोखे । आफूलाई गणेशमान र मंगलादेवीको छोरा भएर विरासतको राजनीति गरेको आरोप लाग्ने गरेको भन्दै उनले आक्रोश पोखे ।

“म विद्यार्थी जीवनबाटै राजनीतिक कार्यकता बनेर दुःख, संघर्ष गर्दै जेलनेल भोगेर अगाडि बढेको हुँ । जागिर खाएर, व्यापार–व्यवसायमा लागेर रिटार्यड जिन्दगी राजनीतिमा बिताउन आएको हैन,” उनले भने ।

एकथरीले आफूलाई ‘राजकुमार’ भनेर हल्ला फिजाएको भन्दै उनले आफू सभापतिको तयारीमा लागेपछि नियोजित प्रहार गरिएको बताए ।

“प्रकाशमानलाई कहिले नेवारवाद लगाउने, कहिले काठमाडौंसँग मात्रै जोड्ने,” उनले भने, “गैरजिल्ला सभापति बनायो, नेवारविरोधी भयो भनेर प्रचार गर्छन् । नेवारलाई सांसद बनायो, काठमाडौं छोड्न सकेन, जातिवादी भयो भन्छन्, यो नियोजित प्रहार हो ।”