प्रकाण्ड गुमनाम हुनुको रहस्य ? - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

प्रकाण्ड गुमनाम हुनुको रहस्य ?



हरेक संगठनले आफ्ना आधिकारिक धारणा सार्वजनिक गर्ने जिम्मेवारी संगठनको एक अगुवा व्यक्तिलाई दिएका हुन्छन्, प्रवक्ताको रुपमा। नेपालमा क्रियाशील सबैजसो राजनीतिक दलले आफ्ना आधिकारिक धारणा सार्वजनिक गर्न प्रवक्ताको व्यवस्था गरेका छन्। यस्तै व्यवस्था नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको ‘नेकपा’ ले पनि गरेको छ।

यतिबेला नेपालका कुनै राजनीतिक दलले उतारचढाव भोग्नु परेको छ भने, विप्लव नेतृत्वको नेकपाले भोगिरहेको छ। सरकारले सो समूहमाथि प्रतिबन्ध लगाएको छ। प्रतिबन्धपछि पार्टीका शीष–मध्यम–तल्लो गरी तीनै तहका नेता–कार्यकर्ताहरु दिनहुँजसो पक्राउ परिरहेका छन्। प्रधानमन्त्री लगायत मन्त्रीहरुले दिनदिनै यो समूहविरुद्ध शाब्दिक जेहाद छेडिरहेका छन्।

सो समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) भने केही दिन यता मौन छन्। कहीँकतै बोलिरहेका छैनन्। प्रवक्तामात्र होइन, पार्टीभित्र उनी महासचिव विप्लवपछि दोस्रो बरियताको रुपमा विश्वास गरिएका नेतापनि हुन् प्रकाण्ड। यसबाहेक ५ सदस्य रहेको विद्रोही नेकपाको स्थायी समितिको सदस्यपनि हुन उनी।

तर, प्रवक्ताको हैसियतमा उनी ‘बेपत्ता’ जस्तै छन्। जबकि, उनलाई सरकारले पक्राउ गरेको चाहिँ छैन। सशस्त्र विद्रोहकालमा गल्ती कमजोरी गर्ने आफ्नै नेता–कार्यकर्तालाई माओवादीले श्रमकैदमा राख्ने गरेको थियो, त्यसक्रममा उनीहरु कहीँकतै बोल्न पाउँदैनथे। तर, प्रवक्ता प्रकाण्ड श्रमकैदमा रहेको कुरापनि सार्वजनिक भएको छैन।

२८ फागुनमा सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि प्रकाण्डले त्यसको मुकाविला गरिने प्रतिक्रिया दिएका थिए। प्रतिबन्धयता सो समूहले निकै ठूलो क्षति बेहोरेको छ। मध्यकमाण्डको ईञ्चार्जसमेत रहेका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली (जीवन्त), पोलिटब्यूरो सदस्य मोहन कार्की (जीवन्त) लगायत दर्जनौँ नेता–कार्यकर्ता गिरफ्तार भएका छन्।

जीवन्तको गिरफ्तारीबारे बोलेका सुदर्शन नै १० चैत्रमा पक्राउ परे। तर, त्यो घटनाबारे प्रबक्ता प्रकाण्ड बोलेनन्। बरु, सुदर्शन लगायत नेता–कार्यकर्ताको गिरफ्तारीविरुद्ध ‘नेपाल बन्द’ सहितको कार्यक्रम सार्वजनिक महासचिव विप्लवको बिज्ञप्तीमार्फते सार्वजनिक भयो। त्यसअघि भएका अन्य गिरफ्तारी र घटनाबारे पनि प्रकाण्ड एक शब्द बोलेनन्।

न उनलाई प्रवक्ताबाट हटाइएको जानकारी सो समूहले सार्वजनिक गरेको छ। न त उनी सरकारको कब्जामा नै परेका छन्। तरपनि उनी किन बोलिरहेका छैनन्? यति महत्वपूर्ण घटना भइरहँदापनि उनी किन गुमनाम हुन चाहिरहेका छन्? प्रबक्ताको व्यवस्था हुँदाहुँदै पछिल्ला घटनाबारे किन महासचिव विप्लव आफै बोलिरहनु परेको छ?

यसबीचमा ‘प्रवक्ता’ प्रकाण्डबारे राजनीतिक बजारमा विभिन्न हल्ला चलेका छन्। पार्टीले उनलाई प्रवक्ताबाट हटाएको आशंका सहितका समाचार प्रकासित भएका छन्। विप्लवले अविस्वास गरेपछि निष्क्रिय रहेको, आर्थिक अनियमितताको लागेको, गिरफ्तार हुँदा पार्टी निर्णय विपरित वार्ता गर्ने प्रतिबद्धता व्यक्त गरेर प्रकाण्ड रिहा भएको भन्ने समाचार आएका छन्।

१० चैत्रमा पक्राउ परेका सुदर्शन त्यसभन्दा एक हप्ता अघि ४ चैत्रमा काभ्रेको काफलडाँडामा प्रहरीले गरेको ‘रेड’ बाट बालबाल उम्केका थिए। यद्यपी, उनी पक्राउ नै परेको हल्ला व्याप्त भयो। यस्तो हल्ला चल्दै गर्दा सुदर्शन आफैले त्यहाँ पार्टीका ४ कार्यकर्ता गिरफ्तार भएको जानकारी सहितको विज्ञप्ती जारी गरे। खासमा यो ‘म पक्राउ परेको छैन है’ भन्ने जानकारी दिन जारी गरिएको विज्ञप्ती थियो।

प्रकाण्डका बारेमा अहिले त कस्तोसम्म स्थिति सिर्जना भएको छ भने, उनी विप्लव नेतृत्वको ‘विद्रोही नेकपा’ परित्याग गरी ‘सत्तारुढ नेकपा’ मा प्रवेश गर्दैछन् भन्ने हल्ला चलेको छ। वर्तमान सरकारलाई ‘दलाल’ को संज्ञा दिँदै क्रान्तिको चर्काे वकालत गर्दै आएका प्रकाण्डबारे चलेको यस्तो हल्लाले उनको राजनीतिक प्रतिबद्दतामाथि नै प्रश्न चिन्ह सिर्जना गर्ने काम गरेको छ।

तर, यतिआखिर प्रबक्ता प्रकाण्ड किन मौन छन्? किन उनीबारे अनेक हल्ला चलिरहँदा महासचिव विप्लव आफैपनि बोलिरहेका छन्। किन उनी ‘बेपत्ता’ छन्?