चेकजाँचमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाबीच दोहोरो झडप - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

चेकजाँचमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाबीच दोहोरो झडप



विराटनगर : विराटनगर महानगरपालिकासँग जोडिएको मोरङको कटहरी गाउँपालिका- १ महेशपुरमा सोमबार राति मादक पदार्थ सेवन (मापसे) चेकजाँचमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाबीच दोहोरो झडप भएको छ।

झडपका कारण स्थिति तनावग्रस्त बनेको थियो। प्रहरीले घरघरमा पसेर सुतिरहेका र बसिरहेका सर्वसाधारणमाथि कुटपिट गरेको आरोप स्थानीयले लगाएका छन्।महेशपुरमा मापसे चेकजाँचमा खटिएको प्रहरी टोली र त्यहीं बसेर गफगाफ गरिरहेका स्थानीय बासिन्दाको एउटा समूहबीच भएको विवादले उग्ररुप लिएपछि झडपको स्थिति उत्पन्न भएको हो।

प्रहरीका अनुसार ड्युटीमा खटिएका प्रहरीलाई मापसे चेकजाँचका नाममा स्थानीय बासिन्दासँग अनाधिकृतरुपमा पैसा माग्ने गरिएको आरोप लगाइएपछि विवाद भएको थियो। विवाद बढ्दै गएको खबर पाएर स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी कृष्ण खड्काको नेत्रृत्वमा खटाइएको प्रहरी टोलीसँग स्थानीयको झडप भएको हो।

झडपका क्रममा स्थानीय बासिन्दा समेत रहेका प्रहरी हवल्दारसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार पक्राउ पर्नेमा अनन्तराम चौधरी, जोगनारायण चौधरी र सवदनारायण चौधरी छन् । पक्राउ पर्नेमध्ये सवदनारायण प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी हवल्दार हुन्।

हवल्दार सवदनारायणकै कारण झडपको स्थिती उत्पन्न भएको एसपी केसीको भनाइ छ । कोसी अञ्चल अस्पताल विराटनगरमा स्वास्थ्य परीक्षण गराउँदा पक्राउ परेका सबै जनाले मापसे गरेको खुलेको थियो।

तीनैजना विरुद्ध प्रहरीले मंगलबार अभद्र व्यवहारको मुद्धा चलाउन जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जनाएको छ। झडपमा परेर जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान रोजन राई घाइते भएका छन्। स्थानीय बासिन्दाले वियरको बोतल प्रहार गर्दा टाउकोमा चोट लागेपछि राईको टाउकोमा चार टाँका लगाउनु परेको एसपी केसीले बताए । स्थानीयले ढुँगा मुडा गर्दा प्रहरीको सिटी बैंक सिआरभी पोष्टको ना १ झ ९२० नम्बरको गाडीको अगाडिको सिसा फुटेको छ।

‘चेकजाँचमा खटिएको प्रहरी टोलीसंग मापसे गरेर आएका स्थानीयले विवाद गर्न थालेछन्,’ केसीले भने, ‘पछि बुझ्दै जाँदा विवाद गर्ने मध्ये एक जना प्रहरी हवल्दार पनि रहेछन् ।’उनका अनुसार ड्युटीका प्रहरीलाई दुरव्यवहार गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन खोज्दा स्थानीय बासिन्दा भेला जम्मा भएर प्रहरीमाथि नै आक्रमण गरेका थिए। ‘प्रहरीमै कार्यरत व्यक्तिको उक्साहटमा लागेर चेकजाँचमा खटिएको प्रहरी टोलीमाथि आक्रमण भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सामान्य बल प्रयोग गरेको हो’, एसपी केसीले भने, ‘प्रहरीले घरघरमा पसेर कोही पनि सर्वसाधारणलाई कुटेको छैन्।’

स्थानीयले भने प्रहरीले ड्युटी र चेकजाँचका नाममा गाउँमा पसेर ज्यादती मच्चाएको आरोप लगाएका छन्। स्थानीय बासिन्दा तथा आदिवासी जनजाति महासंघ मोरङका पूर्व अध्यक्ष देवराज चौधरीले मापसे चेकजाँचका नाममा प्रहरीले पैसा उठाउने गरेपछि त्यसको विरोध गर्दा स्थानीय बासिन्दामाथि अन्दाधुन्दा लाट्ठी प्रहार गरिएको बताए।

उनले प्रहरीले अनाधिकृत रुपमा पैसा उठाएको विषयमा विवाद भएसँगै थप मद्धतका लागि भनेर पुगेको प्रहरी टोलीले घरघरमा पुगेर महिला, वृद्ध, वृद्धा तथा बालबालिकामाथि दुरव्यवहार गर्दै लाट्ठी चार्ज गरेको बताए।

‘मापसे चेकजाँचका खटिएको प्रहरी टोलीले सवारी चालकहरुसँग अनाधिकृत रुपमा पैसा उठाउने काम गरिरहेको हुन्छ,’ उनले भने, ‘नराम्रो कामको विरोध गर्दा सिंगो गाउँमा बर्दीको धामस देखाउँदै प्रहरीले गुण्डागर्दी शैलीको व्यवहार देखायो।’

पूर्व अध्यक्ष चौधरीले प्रहरीले गाउँमा कुटपिट गर्न थालेपछि सबै गाउँले आतंकित भएको भन्दै यस्तो काम गर्न निर्देशन दिने र उक्साउने प्रहरी अधिकारीसम्मलाई कारवाही हुनुपर्ने माग गरे। घटनाको विरोध गर्दै मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय पुगेको स्थानीय बासिन्दा र प्रहरीबीच पनि प्रहरी कार्यालयको गेटैमा झडप भएको छ। चौधरीका अनुसार मोरङका प्रहरी प्रमुखलाई घटनाको वास्तविकता बताउन जनप्रतिनिधी सहित स्थानीय बासिन्दा जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए।

त्यस क्रममा अघि बढ्न नदिइकन प्रहरीले गेटमै रोकेर जनप्रतिनिधी सहितलाई अन्दाधुन्दा लाट्ठी प्रहार गरेको स्थानीयको भनाइ छ। प्रहरीले वडा नम्बर १ का अध्यक्ष कपुरलाल माझी, वडा सदस्य गंगा राय र ६५ वर्षीय वृद्धा पवनीदेवी चौधरीमाथि दुरव्यवहार गर्दै स्थानीय बासिन्दामाथि लाट्ठी प्रहार गरेको महासंघका पूर्व अध्यक्ष चौधरीको भनाइ छ।

प्रहरीको लाट्ठी प्रहारबाट वडा सदस्य रायको टाउको फुटेको छ । पवनीदेवीको कपडा च्यातिएको छ भने प्रहरीले लाट्ठीले घोच्दा अनुहारमा चोट लागेको जानकारी पूर्व अध्यक्ष चौधरीले दिए । स्थानीय बासिन्दाले प्रहरीले ज्यादती गरेको भन्दै घटनाको विरोधमा मंगलबार विराटनगरमा प्रदर्शन समेत गरेका छन् ।

उनीहरुले प्रहरीको ज्यादती बन्द गर्नुपर्ने, दोषी प्रहरीमाथि कारवाही गरिनुपर्ने, बर्दी आडमा गुण्डागर्दी शैलीको व्यवहार देखाउन आदेश दिने प्रहरी अधिकारीलाई कारवाही हुनुपर्ने, विना कारण पक्राउ गरिएका तीनैजना निर्दोश रहेको भन्दै उनीहरुलाई विनासर्त छाडिनुपर्नेलगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल सहभागी कार्यक्रमस्थल बाहिर पनि स्थानीयले प्रदर्शन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो।महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गतको कार्यक्रममा सहभागी हुन पोखरेल विराटनगरको विरेन्द्रसभा गृहमा पुग्नु अघि नै स्थानीयले प्रदर्शन थालेका थिए।

भीडलाई पन्छाउँदै प्रहरीले उप-प्रधान एवं रक्षा मन्त्री पोखरेललाई कार्यक्रमस्थल भित्र पुर्‍याएको थियो। यस घटनालाई लिएर उत्पन्न तनाव अन्त्यका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा सर्वपक्षिय वार्ता जारी रहे पनि कुनै निस्कर्ष भने आइसकेको छैन।

वार्तामा स्थानीय बासिन्दा, जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, एसपी मनोजकुमार केसी, सशस्त्रका एसपी मनिष थापा लगायतबीच वार्ता भएको छ। प्रशासन कार्यालय भित्र वार्ता चलिरहँदा कार्यालय बाहिर भने भेला भएका महिला, वृद्ध, वृद्धा तथा स्थानीय बासिन्दाले विना कारण आफूहरु प्रहरी ज्यादतीको सिकार हुनु परेको भनेर न्याय माग्दै धर्ना दिइरहेका छन् ।अन्नपूर्ण पाेष्ट दैनिकबाट