प्रहरी प्रवक्ताले भने निर्मला हत्या प्रकरणमा बम दिदिबहिनीहरु निर्दोष हुन् - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रहरी प्रवक्ताले भने निर्मला हत्या प्रकरणमा बम दिदिबहिनीहरु निर्दोष हुन्



काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले निर्मला हत्या प्रकरण संगठनको लागि पनि प्रतिष्ठाको विषय भएकोले उच्च प्राथमिकताका साथ अनुशन्धान गरिरहेको स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘यो प्रकरणमा हाम्रो संगठनले मेहनत र ईमानदारपूर्वक अनुशन्धान गरिरहेको छ । यो प्रकरण हाम्रो संगठनको लागि पनि प्रतिष्ठाको विषय हो । हामीले उच्च प्राथमिकताका साथ अनुशन्धान गरिरहेका छौं ।’

प्रवक्ता सुवेदीले निर्मला हत्या प्रकरणमा आजको मितिसम्म संगठनलाई कुनै पनि राजनीतिक दबाब नआएको पनि स्पष्ट पारे । उनले भने,‘राजनीतिक प्रभाव अथवा दबाबले कुनै घट्नालाई यति समयसम्म नेपाल प्रहरीले सहेर, कुनै व्यक्तिले कहिलेकाहीँ कुनै अमुक केशमा कुनैमा सहेको हुँदो होला, संस्थाले कहिल्यैपनि पनि सहँदैन् । त्यसमा पनि यो केशमा कतैबाट दबाब आएकै छैन ।’

यो प्रकरणमा राजनीतिक दबाब आएको थियो भनेर खाली हल्लाको भरमा भन्न नहुने उनको धारणा छ । उनले थपे,‘कतैबाट कसैलाई बचाउने अथवा कसैलाई फसाउने नियतले त यो आएको होईन ?।’

कहिलेसम्म दोषी पत्ता लगाउनुहुन्छ भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘अब अनुशन्धान, जुन दिन हुन्छ, त्यही दिन सार्वजनिक गर्छौं । हामीलाई त यति हतार छ की तथ्य आउँदा साथ हामी सार्वजनिक गरेर त्यो दिन हामी पनि लामो सास फेर्नुपर्ने अवस्था छ।’

प्रहरीको ‘डिएनए–टेष्ट’मै आशंका भनेर बाहिर कुराहरु आएका छन् नि भनेर सोधिएको अर्को प्रश्नमा उनले भने,‘मैले पनि मिडियामा पढेको छु, हाम्रो विशेषज्ञहरु र केही हामीले कन्सल्ट गर्दाखेरि उहाँहरुले त्यस्तो कुरा होईन भन्नुहुन्छ । यो टेक्निकल विषय भएकोले कुरा उठेको छ, यसमा नेपाल प्रहरी पनि एकदम सिरियश छ । डिएनए टेष्ट भनेको नेपालको लागि कमन–प्राक्टिस होईन । जुन कुरा कमन हुन्छ, त्यसमा धेरै कुरामा अगाडि बढिसकेको हुन्छ । कतिपय कुराहरु सिक्नुपनि पर्ने हुन्छ । टेक्नोलोजीको कुराहरु, कतिपयले त्यो मेशिन नै ठिक हो कि होईन भन्ने कुरा उठाईदिन्छन् । हामीले पनि सम्बन्धित् विशेषज्ञहरुको राय लिएकाछौं । यो समयसम्म भन्नुपर्दाखेरि त्यस्तो ईक्युपमेन्टमा फल्ट, अथवा त्यसमा केमिकलमा फल्ट, तर अन्य हिसाबले प्रमाणित भएको अवस्था छ ।’

प्रवक्ता सुवेदीले निर्मला हत्या प्रकरणमा नाम मुछिएका बम दिदिबहिनीहरु निर्दोष रहेको पनि स्पष्ट पारे । उनले भने,‘नेपालको प्रचलित कानून र संविधानले पनि कानुनबमोजिम प्रमाणित नहुेन्जेलसम्म उसलाई दोषी भन्न मिल्दैन् । मलाई त कहिलेकाहीँ दुःख लाग्छ, यी कुराहरु नआईदिएको भए हुन्थ्योजस्तो लाग्छ । नेपाल प्रहरीको प्रवक्ताको हैसियतले मैले भन्दाखेरि निजहरुको विरुद्धमा कुनै प्रमाण अथवा अदालतले दोषी करार नगरुञ्जेलसम्म उहाँहरु निर्दोष हुन । यो कुरा मैले भन्नैपर्छ ।’

प्रवक्ता सुवेदीले भूमिगत सशस्त्र समूहको नाममा हिजोको अवस्थामा हुने गरेका हत्या, हिंसा, बम विस्फोटन, जबरजस्ती चन्दा संकलन, अपहरणजस्ता घट्नाहरु प्रहरीको सक्रियताले अहिले न्यूनिकरण भएर लगभग जिरोको अवस्थामा रहेको दाबी गरे ।

उनले भने,‘हिजोको अवस्थामा देशका विभिन्न स्थानमा संगठित गुण्डागर्दी, विभिन्न ग्याङको नाममा गुण्डागर्दी गर्ने, त्यही नाममा अपहरण गर्ने, जबरजस्ती चन्दा लिने, अरुको सम्पत्ति कब्जा गर्ने, टेण्डर कब्जा गर्ने, प्राकृतिक स्रोत तथा साधनहरुको दोहनमा पनि प्रत्यक्ष रुपमा संलग्न हुनेजस्ता क्रियाकलापहरु गर्नेहरुको विरुद्धमा पनि प्रहरीले विशेष कारबाही गर्दै, निर्माण व्यवसायी शरद गौचनको हत्यापछिको अवस्था हेर्नुभयो भनेपनि, त्यो हत्यामा संलग्नसमेत कानुनको दायरामा आईपुगेका छन् भने केही मान्छे मुठभेडमा पनि मारिएका छन् ।’

सुवेदीले समग्र रुपमा देशमा अहिले बन्द, हड्ताल, जातीय तथा क्षेत्रिय हिंसा अथवा अन्य कुनैपनि किसिमले अराजकताको अवस्था नरहेको जिकिर गरे । उनले भने,‘तर, यति भन्दै गर्दापनि हामीले अपराध तथ्यांक हे¥यौं भने जुन न्यूनिकरण हुनुपर्ने हो, त्यो न्यूनिकरण भएको छैन । नेपाल प्रहरीले यसमा धेरै अनुशन्धान गर्यो । रिसर्च गर्यो । सरोकारवालाहरुसँग छलफल गर्यो । मिडियाकर्मी साथीहरुसँगपनि छलफल गर्यो । छलफल गर्दा के निश्कर्षमा पुग्यो भने, अहिले नेपालको शान्ति, सुरक्षाको अवस्थालाई चूनौति दिने भनेको पेशेवर अपराधीको कारणले अर्थात संगठित अपराधीको कारणले होईन रहेछ ।’

उनले अहिले सामाजिक विकृतिका कारण समाजमा घट्नाहरु घटिरहेको सुनाए । उनले भने,‘हत्या, हिंसा, बलात्कार, लुटपाटलगायतका घट्नाहरु घट्नुको मुख्य कारण नै सामाजिक विकृति रहेछ ।’ सामाजिक विकृति न्यूनिकरण गर्नको लागि आफूहरुले सम्बन्धित सरोकारवालाहरुसँगको सहकार्यमा सचेतना कार्यक्रम अघि बढाएको पनि उनले जानकारी दिए ।
सामाजिक विकृति न्यूनीकरण गर्नको लागि नेपाल प्रहरी र स्थानीय सरकारबीच सम्झौतासमेत भैसकेको उनले जानकारी दिए । उनकाअनुसार अहिलेसम्म ७४७ स्थानीय सरकारसँग प्रहरीले (एम.ओ.यू) गरिसकेको छ ।

आफूहरुले सचेतना कार्यक्रम अघि बढाउनको लागि देशभरि करिब दश हजार समिति बनाईसकेको पनि उनले जानकारी दिए । उनका अनुसार जिल्ला समिति, पालिका समिति, वडा समिति, टोल समिति र विद्यालय समिति गरी पाँच किसिमका समितिहरु गठन भएको छ ।

सुवेदीले अहिले ६० प्रतिशत बलात्कार १५ वर्ष मुनिका बालिकाहरुमाथि भैरहेकोपनि सुनाए । उनले भने,‘९७ प्रतिशत बलात्कारको केशमा प्रहरीको तर्फबाट सफल अनुशन्धान भएको छ ।’ सुवेदीले बलात्कारको शिकार आफन्तबाटै भएको पनि सुनाए । उनले थपे,‘अब सचेतना कार्यक्रम आवश्यक छ ।’

उनले बलात्कारको न्यूनिकरणको लागि आफूहरुले विद्यालयस्तरबाटै ‘ईन्टरभेन्सन’ सुरु गरेको पनि सुनाए । उनले भने,‘काठमाडौं उपत्यकाका ७ सय विद्यालयमा हामीले सचेतना कार्यक्रम सुरु गरिसकेका छौं । देशभरि २ हजार विद्यालयहरुमा सचेतनामूलक कार्यक्रमहरु अघि बढाएका छौं ।’

त्यस्तै ‘साईबर–सेक्युरिटी’ पनि देशमा अहिले अर्को चूनौतिको रुपमा रहेकोले त्यसलाई न्यूनिकरण गर्नको लागि आफूहरुले सोहीअनुसार कार्यक्रमहरु अघि बढाएको उनको भनाई छ ।

गत कार्तिक ११ गतेदेखि सुरु भएको आफूहरुको कार्यक्रमअन्र्तगर्त अहिलेसम्म विभिन्न केशका ११५० फरार अपराधीहरु देशभरिबाट पक्राउ गर्न सफल भएको पनि प्रवक्ता सुवेदीले जनाए । त्यस्तै, १५० गैरकानुनी हतियार र ठूलो मात्रामा लागुऔषध र मदिराजन्य वस्तुहरु जफत गर्न सफल भएको पनि उनले जनाए ।

फरक प्रसँगमा उनले तपस्वी रामबहादुर बमजन प्रकरणबारे पनि प्रहरीले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत अनुशन्धान गरिरहेको जानकारी दिए । उनले भने,‘मकवानपुर, सर्लाही, नुवाकोट, बारामा निवेदनहरु परेको छ । पाँच जना मान्छेहरु बेपत्ता भएको सम्बन्धमा । यसमा मिडियाबाटपनि हामीलाई सहयोग भएको छ । सेतोपाटीमा कुराहरु आएको थियो, त्यसलाई पनि हामीले आधार बनाएका छौं । प्रहरीले अहिले अनुशन्धान गरिरहेको छ ।’

यो प्रकरणमा अनुशन्धान गर्न मिडियाले सहयोग गरेको उनको भनाई छ । उनले भने,‘म मिडियाहरुलाई धन्यवाद दिन चाहन्छु । मिडियामा अनुशन्धानलाई प्रभाव पार्ने कुरा त्यस्तो केही पनि आएको छैन । बरु सहयोग भएको छ।’

यो प्रकरणमा अनुशन्धानको घेरा अझै केही समय विस्तृत भएर जाने देखिएको पनि उनले जनाए । उनले भने,‘अनुशन्धान गरिरहेको भएर केही समय लाग्छ, तर तथ्य बाहिर आउँछ।’

धादिङबाट हिजो सुन भनेर बरामद भएको ४ केजी पित्तलको बारेमा प्रतिक्रिया दिँदै उनले भने,‘चार केजी सुन प्रहरीले बुझायो, बुझाउँदाखेरि सुन बुझाएको, उता परीक्षण गर्दा तामा निस्कियो भन्ने कुरा आएको छ । यो भनेको कुरा, सुन बरामद भयो । तर, हेर्दैमा सुन होईन भन्न सकिँदैन । त्यसैले प्रहरीले मुचुल्का गराउँदा पहेंलो सुनजस्तो देखिने, यति तौलको भनेर नै बरामद गर्छ । यसमा थप अनुशन्धान गर्दा फलाम देखियो । यसमा ठगी मुद्दाअन्र्तगर्त कारबाही भैरेहेको छ।’

३३ केजी सुन प्रकरणपछि अहिले ठाउँ–ठाउँमा सुन समातिने क्रमहरु देखिरहेको सुनाउँदै यसमा प्रहरीको सक्रियताको ठूलो भूमिका रहेको सुवेदीले बताए । उनले भने,‘नेपाल अझैपनि धेरै किसिमका संगठित अपराधहरुलाई ब्रेक गर्न सफल भएपनि तीन वटा कुराको संगठित अपराधको अझै ब्रेक गर्न जरुरी गर्न देखिन्छ । पहिलो, मानव तस्करी, दोस्रो ड्रग्स, तेस्रो स्मग्लिङ । प्रहरीले अहिले स्मग्लिङलाई साईजमा ल्याएको छ ।’