प्रहरीकै आडमा जुवा अड्डा संचालन
कपिलवस्तु – जिल्ला प्रहरी कार्यालय नजिकै संस्थागत रुपमा जुवा संचालन भैरहँदा पनि स्थानीय प्रसाशनले यसलाई रोक्न सेकेको छैन ।
सदरमुकाम तौलिहवाको बरगदवा गाउँमा दैनिक जुवा खेल संचालन हुदै आएको छ । प्रहरीले जुवा संचालन नगर्न पटक–पटक आदेश गरे पनि आदेशको बेवास्ता गर्दै जुवा खेल संचालन भैरहेकाे छ ।
यसरी संस्थागत रुपमा जुवा संचालन हुँदासमेत प्रहरीले जुवा संचालन रोक्न सकेको छैन । यसलाई केहि स्थानीयले प्रहरीको मिलेमतोमा जुवा अड्डा संचालन गरेको शंका पनि गरेका छन् ।
जिल्लामा नयाँ आउनु भएका प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जुवा संचालन हुन नदिने बताए पनि उहाँको यो भनाई औपचारिकतामा मात्रै सीमित भएको छ । जुवा संचालकहरुले संचारकर्मी, प्रहरी सबैसँग सेटिङ मिलाएर जुवा संचालन गरेको दाबीका साथ जुवा खेलाउने गरेका छन् ।
जुवा खाल संचालनबाट खाल संचालकले यो समयमा मात्रै १५ लाख रुपैयाँ फाइदा पाउने गर्छन् । पूर्ण रुपमा कानुनबाट निषेध गरिएको यो खेलमा प्रहरीले चासो नदिएकाले झन् बढ्दै गैरहेको स्थानीय नागरिकहरुको गुनासो छ ।