प्रदिप पौडेलले भने : रविन्द्र अधिकारी हाम्रो 'रोल मोडल' हुन् - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रदिप पौडेलले भने : रविन्द्र अधिकारी हाम्रो ‘रोल मोडल’ हुन्



काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले आफ र स्वर्गीय अधिकारीवीच निकै आत्मीय सम्बन्ध रहेको सुनाए । उनले भने,‘उहाँ त नातामा पनि मेरो दाजु नै हुनुहुन्थ्यो । हाम्रो क्षेत्रमा उहाँको ठूलो प्रभाव छ । उहाँ वास्तवमा हामी युवाहरुको लागि रोल–मोडल नै हुनुहुन्थ्यो ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले स्वर्गीय रवीन्द्र अधिकारीको सम्झनामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै पौडेलले अधिकारीलाई अत्यन्तै सह–हृदय, मिलनसार र सरल व्यक्तिको रुपमा चित्रण गरे । उनले भने,‘म त उहाँको नातामा भाई पर्छु, तर उहाँ नातामा भाई नपर्नेहरुलाई पनि आफू दाई भएको महशुस गराउनुहुन्थ्यो ।’

मुलुकले निकै धेरै आशा गरेको युवा नेता गुमाएको भन्दै उनले अधिकारीलाई सबै पार्टीका युवा नेताहरुले रोलमोडलको रुपमा लिएको सुनाए । उनले भने,‘अत्यन्तै लोकप्रिय हुनुहुन्थ्यो, ०६४, ०७० र ०७४ को निर्वाचनमा विजयी हुनुभएको थियो । उहाँले पोखरामा पनि राम्रो छबि बनाउनुभएको थियो ।’

अधिकारीमा विकासप्रति अत्यन्तै गहिरो लगाव रहेको पनि उनले सुनाए । उनले भने,‘उहाँले विकास समितिको सभापति हुँदा धेरै काम गर्नुभएको छ । उहाँले विकाससम्बन्धी जागरण नै चलानुभएको थियो । त्यतिमात्रै होईन, उहाँ धेरै सिर्जनशील हुनुहुन्थ्यो । साहित्यमा पनि त्यतिकै पोख्त हुनुहुन्थ्यो । सिर्जनशील व्यक्तित्व हुनुहुन्थ्यो ।’

समाज र देशको लागि केही गर्नुपर्छ भन्ने हुटहुटी अधिकारीमा रहेको उनले सम्झिए । उनले भने,‘समकालिन नेताहरुमा उहाँ नेपाल बुझेको नेतामा पर्नुहुन्थ्यो । उहाँले प्रविण गुरुङको सडक दुर्घट्नामा निधन हुँदा निडरता प्रस्तुत गर्नुभएको थियो । राजाको विरुद्धमा आन्दोलन नै चलाउनुभयो ।’

अधिकारीमा एउटा राजनीतिज्ञमा हुनुपर्ने सबै गुणहरु रहेको पनि सुनाए । उनले भने,‘उहाँ सबै पक्षमा अब्बल हुनुहुन्थ्यो । उहाँ बाँचेको भए वाईडबडी प्रकरणमा आफूलाई निश्कलंक सावित गर्नुहुन्थ्यो ।’ पर्यटनमन्त्री भैसकेपछि अधिकारीले यो क्षेत्रको विकासको लागि एक वर्षमा धेरै काम गरेको उनले सुनाए ।

उनले भने,‘यो एक वर्षमा उहाँले धेरै ठूलो काम गर्नुभएको थियो । एयरपोर्ट सुचारुदेखि लिएर नयाँ एयरपोर्ट बनाउनको लागि उहाँले धेरै काम गर्नुभएको थियो ।’ अधिकारी कम्युनिष्ट भएपनि परम्परावादी नभएर आधुनिक भएको पनि उनले सुनाए ।

उनले मन्त्री अधिकारीको दुर्घट्नामा भएको निधन र वाईडबडी प्रकरण दुवै फरक विषय भएकोले उक्त प्रकरणको बारेमा निश्पक्ष छानबिन हुनुपर्ने बताए । उनले भने,‘यो प्रकरण तुहिनु हुँदैन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय मन्त्री अधिकारी यो प्रकरणमा निर्दोष हुनुहुन्थ्यो भनेर बोलिसक्नुभएको छ नि भनेर सोधिएको अर्को प्रश्नमा उनले भने,‘प्रधानमन्त्रीले दोषी पत्ता लगाउनको लागि सहयोग गर्नुपर्छ । उहाँले यो प्रकरणको छानबिन गर्नको लागि शाही आयोगजस्तो एउटा आयोग बनाउनुभएको थियो । तर, अहिलेसम्म आयोगका सदस्यहरु नियुत्ती पत्रसमेत पाएका छैनन् । यो प्रकरणमा अख्तियारले छानबिन गर्छ । महालेखाले पनि खोजी गर्नुपर्छ ।’

फरक प्रसँगमा उनले पार्टीभित्र अहिले केही अन्तरविरोध देखिएकोजस्तो भएपनि पार्टीलाई मिलाएर एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए । उनले भने,‘पार्टीलाई बलियो बनाउनुपर्छ । यसको लागि पार्टी सभापतिजीले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ । बहुमत र अल्पमतको आधारमा होईन, एकमतले निर्णय गराउनुपर्छ ।’