प्रदिप पौडेलले भने: ओलीले अहिलेसम्म सिन्को सम्म भाँचेका छैनन् - Himal Post Himal Post
  • १३ माघ २०८२, सोमबार
  •      Mon Jan 26 2026
Logo

प्रदिप पौडेलले भने: ओलीले अहिलेसम्म सिन्को सम्म भाँचेका छैनन्



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले पार्टीको केन्द्रीय समिति, पदाधिकारी, अनुशासन समिति र संसदीय समिति सबै निर्वाचनमार्फत चयन गर्नुपर्ने स्पष्ट पारेका छन् ।

शनिबार नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको दशैं, तिहार र छठलगायतका चाडपर्वको अवसरमा शुभकामना आदान–प्रदान आयोजित कार्यक्रममा नेता पौडेलले पार्टीभित्र अहिले आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्ने मुख्य चूनौति रहेको बताए । उनले भने, “आन्तरिक लोकतन्त्र सुदृढ गर्नु अहिलेको चूनौति हो । त्यसैले हामीले अब सबै पदाधिकारी, केन्द्रीय समितिलगायतमा प्रत्यक्ष निर्वाचित प्रणाली स्थापित गर्नुपर्छ ।”

समितिका सभापति भीमबहादुर थापाको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीभित्र यतिवेला अनुशासन उल्लंघन भैरहेकोले अनुशासन कायम गर्नको लागि पनि शक्तिशाली अनुशासन आयोग गठन गर्नुपर्ने पनि धारणा अघि सारे ।

पार्टीभित्र बसेर गलत गर्ने र अनुशासन नमान्नेहरुलाई कारबाही गर्न सक्ने मान्छे मात्रै अनुशासन समितिको नेतृत्वमा बस्नुपर्ने उनको भनाई छ । पार्टीलाई आगामी दिनमा कसरी अघि बढाउने भन्नेबारेमा आफूहरुले यतिवेला छलफलमै रहेको पौडेलले सुनाए ।

फरक प्रसंगमा उनले सत्तारुढ दल नेकपा र यसका नेताहरु अहिले पतनको बाटोमा अग्रसर रहेको आरोप लगाए । उनले भने, “अहिले सत्तारुढ दल नेकपाका नेताहरु पतनको बाटोमा छन् । सरकारले अहिलेसम्म एउटापनि राम्रो काम गर्न सकेको छैन । प्रधानमन्त्री ओलीले चुनावमा घोषणा गरेका प्रतिबद्धताबमोजिम कुनैपनि काम गर्न सक्नुभएन ।”

प्रधानमन्त्री ओलीले अहिलेसम्म सम्झनलायक एउटापनि राम्रो काम गर्न नसकेको उनको आरोप छ ।

उनले भने, “मेलम्ची खानेपानी परियोजनापनि हाम्रै पालामा भएको हो । नारायणघाट–मुग्लिन सडक खण्डको स्तरोन्नती हाम्रै पालामा भएको हो । यो सरकारले के नयाँ काम गरेको छ र ?”