वाम गठबन्धनको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवालाई यस्तो चेतावनी (पूर्ण पाठसहित) - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

वाम गठबन्धनको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवालाई यस्तो चेतावनी (पूर्ण पाठसहित)



काठमाडौँ, २ पुस । वाम गठबन्धनले संविधानको गलत व्यख्या नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिएको छ ।

आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनका शीर्ष नेताले देउवा नेतृत्वको सरकारले नयाँ सरकार गठन, संविधान कार्यान्वयन र लोकतन्त्रको सहज अभ्यासमा अवरोध सृजना हुनुका साथै जनमतको अवमूल्यन तथा अनादर टिप्पणी गर्दै संविधानको गलत व्याख्या नगर्न, संविधानको सहज कार्यान्वयनमा अवरोध सृजना नगर्न र संविधानसम्मत एवं लोकतान्त्रिक विधिका साथ प्रकट भएको जनमतलाई अवमूल्यन नगर्न चेतावनी दिएका हुन् ।

यस्तो छ पत्रकार सम्मेलनपछि जारी वाम गठबन्धनको वक्तव्यः

२०७४ मङ्सिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) समेतका साझा वामपन्थी उम्मेद्वारहरुको पक्षमा मतदान गर्नुहुने र हामीलाई अत्यधिक बहुमतका साथ निर्वाचित गर्नुुहुने दिदिबहिनी तथा दाजुभाइलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । निर्वाचन परिचालन एवं प्रचार–प्रसारमा सक्रियतापूर्वक लाग्नुहुने वामपन्थी दलहरूका सम्पूर्ण नेता, कार्यकर्ता तथा सदस्यहरू तथा हाम्रो निर्वाचन अभियानको पक्षमा विभिन्न ढङ्गले सरिक राजनीतिक दलहरू, उम्मेदवारहरु र प्रचारकहरुलाई धन्यवाद ज्ञापन गर्दछौँ । जनताबाट निर्वाचित हुनुभएका प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरूलाई हार्दिक बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछौँ ।

त्यसै गरी आ–आफ्नो आस्था एवं विश्वासको आधारामा विभिन्न पार्टी एवं उम्मेदवारहरुको पक्षमा मतदान गरेर संविधानको कार्यान्वयन र लोकतन्त्रको सवलीकरणमा योगदान गर्नुहुने सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन गर्दछौँ । निर्वाचनको प्रभावकारिता अभिवृद्धि गर्न योगदान गर्नुहुने सञ्चारकर्मी एवं सञ्चारमाध्यमहरुप्रति धन्यवाद व्यक्त गर्दछौँ । स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि भूमिका निर्वाह गर्नुहुने निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी एवं सुरक्षाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्दछौँ ।

हामीले राजतन्त्रको अन्त्य, संविधानसभाको निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छौँ । अनेक प्रकारका अवरोधहरुलाई पन्छाउँदै संविधानसभाबाट संविधान जारी गर्नमा निर्णायक भूमिका निर्वाह गरेका छौँ । नेपाली समाजमा विद्यमान सबै प्रकारका विभेद, असमानता र शोषण, उत्पीडन विरुद्धको सङ्घर्षमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छौँ । राष्ट्रिय स्वाधीनता, समृद्धि, समानता र सामाजिक न्यायको पक्षमा निर्णायक भूमिका निर्वाह गरेकाछौं । सरकारको नेतृत्वमा रहँदा जनता र राष्ट्रको पक्षमा रचनात्मक र सकारात्मक भूमिका निर्वाह गरेका छौँ । अब हामी संक्रमणकाललाई समाप्त गर्न, राजनीतिक स्थायीत्व कायम गर्न, संविधानको रक्षा र कार्यान्वयन गर्दै समृद्धि हासिल गर्न, लोकतन्त्रलाई सबल र सुदृढ तुल्याउँदै लोकतन्त्रलाई जीवन पद्धतिको रूपमा स्थापितगर्न, राष्ट्रिय स्वाधीनता, एकता र सामाजिक सद्भाव, सार्वभौमसत्तालाई सुदृढ तुल्याउन र सुखीजीवनको नेपाली चाहनालाई व्यवहारिक रूपमा सार्थक तुल्याउन प्रतिबद्ध छौँ । नेपालको संविधानद्घारा निर्देशित स्वतन्त्र परराष्ट्र नीतिको अनुसरण गर्दै हामी सबै मित्र राष्ट्र, विशेषतः छिमेकी देशहरू त्थाअन्तराष्ट्रिय सङ्घ, संस्थाहरुसंग सुमधुर सम्बन्ध कायम गर्न कटिबद्ध छौँ ।

यही उद्देश्यका साथ हामीले पार्टी एकता गर्ने घोषणा गरेका हौँ र यस निर्वाचनमा आपसी तालमेल गरेकाहौं । हामी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) समेत वामपन्थी शक्तिको नेतृत्वमा स्थीर सरकार निर्माण गर्न र उपरोक्त वमोजिका उद्देश्य हासिल गर्न प्रतिबद्ध छौँ । निर्वाचनका क्रममा प्रस्तुत गरिएको केन्द्रीय घोषणा पत्रतथा स्थानीय प्रतिबद्धताको कार्यान्वयन गर्दै जनता र राष्ट्रको सेवामा समर्पित हुन संकल्पवद्ध छौँ ।

हामीले प्रतिपक्षको संवैधानिक व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछौँ र प्रतिपक्षबाट पनि रचनात्मक भूमिकाको अपेक्षा गर्दछौँ । त्यसै गरी सबै मतदाता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र संचारकर्मीहरुबाट पनि साथ, समर्थन र सहयोगको अपेक्षा गर्दछौँ ।

निर्वाचन परिणाम प्रकाशित भएपश्चात् सार्वजनिक भएका वर्तमान कामचलाउ सरकारका अभिव्यक्ति र क्रियाकलापहरू नेपालको संविधान, अन्तर्राष्ट्रिय प्रचलन र हाम्रै विगतका अभ्यास विपरीत छन् । सरकारको यस किसिमको व्यवहारबाट सरकार गठन, संविधान कार्यान्वयन र लोकतन्त्रको सहज अभ्यासमा अवरोध सृजना हुनुका साथै जनमतको अवमूल्यन तथा अनादर समेत भएको छ । हामी प्रधानमन्त्रीलाई संविधानको गलत व्याख्या नगर्न, संविधानको सहज कार्यान्वयनमा अवरोध सृजना नगर्न र संविधानसम्मत एवं लोकतान्त्रिक विधिका साथ प्रकट भएको जनमतलाई अवमूल्यन तथा अनादर नगर्न र ताजा जनादेश अनुरूप नयाँ सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न आह्वान गर्दछौँ ।

केपी शर्मा ओली ,अध्यक्ष -नेकपा (एमाले) / पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष -नेकपा (माओवादी केन्द्र)