प्रधानमन्त्री देउवा भन्छन सत्ता हस्तान्तरण गर्न आतुर छु ! - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रधानमन्त्री देउवा भन्छन सत्ता हस्तान्तरण गर्न आतुर छु !



चितवन । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् ।

चितवनको पर्यटकीय नगरी सौराहामा १४औँ संस्करणको ‘चितवन हात्ती महोत्सव’ उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आफूले पार्टीको लागि जीत–हारलाई नहेरी शान्तिपूर्ण र विश्वासनीय ढङ्गबाट चुनाव सम्पन्न गराएको बताए ।

उनले भने, “ऐतिहासिक निर्वाचन सम्पन्न गरेर लोकतान्त्रिक प्रक्रिया पूरा गरेँ, अब संवैधानिक ढङ्गबाट सत्ता हस्तान्तरण गर्न आतुर छु ।”

सो अवसरमा प्रधानमन्त्री देउवाले हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न संरक्षणकर्मीहरुलाई सम्मानपत्रबाट सम्मानित गरेका थिए ।

उद्घाटन समारोहअघि सौराहामा विभिन्न जातजातिको संस्कृति झल्कने झाँकीसहित शोभायात्रा निकालिएको थियो । कार्यक्रममा चितवन क्षेत्र नं २ का प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ सुरु भएको महोत्सव पुस १५ गतेसम्म चल्नेछ । महोत्सवबाट सौराहाको आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने लक्ष्य राखिएको आयोजक क्षेत्रीय होटेल सङ्घ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए ।

महोत्सवमा विगतका वर्षहरूमा भन्दा महोत्सवका कार्यक्रमहरू परिमार्जित गरिएका छन् । यसवर्ष हात्ती वनभोज कार्यक्रम, हात्ती फास्ट वाक, हात्तीको छावाबीचको फुटबल, हात्ती श्रृंगार, हात्ती पोलो, हात्ती पेन्टिङ, हात्ती बार्थिङ प्रतियोगिता रहेको अध्यक्ष घिमिरेले जानकारी दिए । यसका साथै नियमित रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विविध सांस्कृतिक कार्यक्रमबाट दर्शकहरूले मनोरञ्जन लिन सक्नेछन् ।

महोत्सवअन्तर्गत हात्ती वनभोज कार्यक्रमसँगै, २० हात्तीबीच हात्ती फास्ट वाक प्रतियोगिता, १० वटा हात्तीका छावाहरुबीच फुटबल प्रतियोगिता, पाँच हात्तीबीच श्रृंगार प्रतियोगिता, आठवटाको हात्ती पोलो, पाँच हात्तीबीच पेन्टिङ प्रतियोगिता र पाँच हात्तीलाई बार्थिङ कार्यक्रममा सहभागी गराइएको महोत्सवका संयोजक दीपक भट्टराईले जानकारी दिए ।