मुख्यमन्त्री पोखरेलले भने: ‘प्रदेश ५ बिजोक छ’
प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको हालत बिजोक भएको बताएका छन् । तुलसीपुरमा सभालाई सम्बोधन गर्दै उनले प्रदेशको हालत पहाडबाट बसाई सरेको परिवार जस्तो भएको बताएका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिकाको दोस्रो सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले केही पनि संरचना र पूर्वाधार नभएकाले प्रदेशको हालत पहाडबाट भर्खरै बसाई सरेर तराई झरेको परिवार जस्तो अलपत्र अवस्थामा रहेको बताएका हुन् ।
पहिलोपटक प्रदेशको अभ्यास हुन थालेको र हतारमा सबै तयारी गर्नुपर्ने भएकाले पूर्वाधार अभाव भएको बताए । स्थानीय तह पहिलेदेखि नै सञ्चालित निकाय भएकाले प्रदेश सरकारभन्दा स्थानीय सरकार पूर्वाधारका हिसाबले बढी व्यवस्थीत भएको उनले बताए । अहिले समस्या भएपनि स्थानीय तहसँग गति मिलाउन प्रदेशले छिटै कानून र योजनाहरु बनाएर अघि बढ्ने जानकारी उनले दिए ।
असारदेखि प्रदेशले बजेटसहित आफ्नो प्रादेशिक योजनामा काम गर्न थाल्ने उनले बताए । संविधानले दिएका अधिकार प्रयोग गर्न तत्काल धेरै कानून बनाएर अघि बढ्नुपर्ने भएकाले अहिले प्रदेश र स्थानीय सरकारको ध्यान त्यतैतर्फ जान आवश्यक रहेको उनले बताए ।
संघीय सरकारले नमूना कानून बनाएर पठाएकाले अब त्यसलाई स्थानीय आवश्यकताका आधारमा परिमार्जन गरी पारित गर्दै जानुपर्ने पोखरेलले बताए । अब सेवा प्रवाहका लागि कानून जरुरी रहेको उल्लेख गर्दै मुख्य मन्त्री पोख्रेलले स्थानीय तहका सभाले संविधानसँग नबाझिने र आर्थिक भार थेग्न सक्ने गरी कानून निर्माण गर्नुपर्ने सुझाव दिए ।
उपमहानगरका प्रमुख घनश्याम पाण्डेले सभाबाट आबश्यक सबै कानूनहरु पारित गरी विकासका कार्यक्रम तय गर्ने बताए । सडक निर्माण, मोनो रेलको सम्भाव्यता अध्ययन, उत्तर दक्षिण व्यापारिक सम्बन्ध जोड्ने, पर्यटन विकास गर्ने जस्ता योजनाहरु तय गरी नमूना कामहरु गर्ने योजना बनाइरहेको पाण्डेले बताए ।