प्रदेश नम्बर ५ को अस्थायी मुकाम रुपन्देहीलाई नै तोक्नु पर्ने भन्दै कांग्रेसद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रदेश नम्बर ५ को अस्थायी मुकाम रुपन्देहीलाई नै तोक्नु पर्ने भन्दै कांग्रेसद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र



प्रदेश नम्बर ५ को अस्थायी मुकाम रुपन्देहीलाई नै तोक्नु पर्ने माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय तथा जिल्ला स्तरीय नेताहरु प्रधानमन्त्री कार्यालयमा बिहीबार डेलिकेशन गएका छन् ।

रुपन्देहीमा प्रसस्त आधार तथा पुर्वाधारहरु रहेकाले अस्थायी मुकामका लागि अन्य विकल्प नभएको भन्दै कांग्रेसका केन्द्रीय सदस्य तथा जिल्ला स्तरीय नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

डेलिकेशनमा गएको टोलीले प्रधानमन्त्री देउवालाई भेटेर संवैधानीक ब्यवस्था अनुसार प्रदेशको राजधानी तोक्ने कार्य प्रदेश सभाले गर्ने भएतापनि अस्थायी मुकाम तोक्ने कार्य वर्तमान सरकारको जिम्मेवारीमा आएको उल्लेख गर्दै ध्यानाकर्षण गराएको हो । रुपन्देहीलाई अस्थायी मुकाम तोक्नका लागि विभिन्न आधारहरु भएकाले रुपन्देहीलाई अस्थायी मुकाम तोक्दा उपयुक्त हुने ठहर टोलीले गरेको कांग्रेस बुटवल नगर साभापति खेलराज पाण्डेले जानकारी दिनुभयो ।

टोलीमा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण, मानबहादुर विश्वकर्मा (अर्घाखाँची), चन्द्र भण्डारी (गुल्मी), भरत शाह (रुपन्देही), अतहर कमाल कपिलबस्तु, हरि नेपाल (पाल्पा), पुस्पा भूषाल र विमला क्षेत्री (अर्घाखाँची), खेलराज पाण्डे, चोपनारायण श्रेष्ठ, कुशकुमार मल्ली बुटवल लगायतका ५० बढी कांग्रेसका नेताहरुले प्रधानमन्त्री देउवालाई भेटेर अस्थायी मुकाम रुपन्देहीलाई तोक्न आग्रह गर्दै ज्ञापनपत्र बुझाउनु भएको छ ।

रुपन्देहीलाई अस्थायी मुकाम तोक्नका लागि भगवान गौतम बुद्धका जन्मस्थल, अन्तराष्ट्रिय विमानस्थल निर्माण भएको, अन्तर्राष्ट्रिय सभाहल निर्माण भएको, भारतीय सिमानमा बेलैया नाका, सबै क्षेत्रमा पुग्न यातायातका सधान पाईने, सम्पुर्ण भौतिक पुर्वाधारहरु निर्माण भएको लगायतका पुर्वाधारहरु भएकाले मुकामका लागि रुपन्देही बाहेकको विकल्प छैन, प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।