प्रदेश नं ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रदेश नं ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम



धनगढी । प्रदेश नं. ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम प्रदेश दुई तिहाईले स्वीकृत भएको घोषणा भएको छ ।

शुक्रवार बसेको प्रदेश सभा बैठकमा नाम र राजधानीवारे सुझाव संकलन गर्न गठित विशेष समितिका संयोजक तारा लामा तामाङले प्रतिवेदन स्वीकृत गरियोस् भनी गरिएको प्रस्ताव र प्रदेश सभा सदस्य वीरमा चौधरी र शान्ति नेपाली समर्थनमा रहेको प्रतिवेदन दुई तिहाईले स्वीकृत गरिएको घोषणा भएको हो ।

स्वीकृत भएको प्रतिवदेन अनुसार स्थायी राजधानी कैलाली जिल्लाको गोदावरी नगरपालिकाको वडा नम्बर ४ र २ तेघरीस्थित नेपाली सेनाको व्यारेक रहेको स्थानीदेखि उत्तरपश्चिम, गोदावरी–धनगढी–डडेल्धुरा सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र गोदावरी बजारदेखि दक्षिणको चारकिल्ला क्षेत्रमा पर्ने भएको हो ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना गरी १४ जना प्रदेश सभा सदस्यहरुले वैठक वहिष्कार गरी सो बैठकबाट बाहिरिएका छन् । राजधानी अनुपयुक्त स्थानमा भएको भन्दै उनीहरुले विरोध जनाउँदै वहिष्कार गरेका हुन् ।

आज विहान ११ बजेबाट सुरु भएको बैठक प्रतिपक्षीको विरोधको कारण बीचमा स्थागित गरिएको थियो । पुनः सञ्चालन भएको बैठकमा पनि विरोधपछि वहिष्कार गरिएपछि सत्ता पक्षका प्रदेश सभा सदस्यहरुको बहुमतबाट स्वीकृत गरिएको घोष्णा गरिएको हो । यसैबीच प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरुले संसदमै नाराबाजी समेत गरेका थिए ।