प्रदेश ५ को वेभसाईट र एप्स सार्वजनिक
आचार्य प्रदीप
बुटवल।
प्रदेश नम्बर ५ को प्रदेश वेभसाईट र मोबाइल एप्स सार्वजनिक भएको छ । बुधवार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वेभसाईट र एप्सको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले पारदर्शी र उत्तरदायी सरकारको निर्माण तथा जनताको सुसूचित हुने अधिकारको संरक्षण तथा संवद्र्धन गर्ने दिशामा मुख्यमन्त्रीको वेबसाइट र मुख्यमन्त्री एपले प्रदेशवासी र मुख्यमन्त्रीको बिचमा एउटा गतिशील पुलको काम गर्ने बताए ।
यो एप्स र वेभसाईटको मद्दतबाट नागरिकले स्वतःस्फूर्त रूपमा विकासका गतिविधिहरूको अनुगमन तथा मूल्याङ्कन गर्न सक्नेछन्,जसले नागरिक शासन प्रणालीलाई पारदर्शी र गतिशील बनाउन बल पुग्ने मुख्यमन्त्री पोखरेलको विश्वास छ ।
एप्स र वेभसाईटबाट मुख्यमन्त्री सचिवालयबाट प्रेषित जनसरोकारसँग सम्बद्ध सम्पूर्ण समाचार तथा सूचनाहरू, मुख्यमन्त्रीका प्रमुख दैनिक कार्यक्रमहरूको सूचना, मुख्यमन्त्रीसँग भेटघाटको लागि अनलाइनबाट समय लिने व्यवस्था , प्रदेशमा रहेका साना—ठुला सबै प्रमुख आयोजनाहरूको अध्यावधिक स्थिति ः नाम, ठेकेदार कम्पनी, आयोजनाको रकम,प्रगति विवरण, समयसीमा , मुख्यमन्त्रीलाई प्रदेश सम्बद्ध गुनासो तथा सुझावहरू तत्काल दिन पाउने व्यवस्था , जायज गुनासोहरूको कार्यान्वयनको स्थिति, समृद्धि संवाद अन्तर्गत आवश्यक तथा सान्दर्भिक विषयमा नियमित रूपमा मुख्यमन्त्रीको धारणा लगायतका कुराहरूको जानकारी प्राप्त गर्न सकिने छ ।
http://www.pradesh-5.com डोमेनको अनलाइन र एप्सको नाम प्रदेश ५ रहेको छ । यो एप्लीकेशन एन्ड्रोइड संस्करणमा उपलब्ध छ,जो गुगल प्ले स्टोरमा गएर डाउनलोड गर्न सकिन्छ ।
यसको आइफोन संस्करण पनि चाँडै उपलब्ध हुनेछ । यस एपमा पनि वेबसाइटमा उल्लिखित सबै विशेषताहरू संलग्न गरिएको छ । मुख्यमन्त्रीसँग सम्बन्धित नयाँ क्रियाकलापहरूको जानकारी एपले तुरुन्तै दिनेछ । अनलाइन पहिलो दिन भने काम गरेको छैन ।