बुटवल–भैरहवालाई वित्तीय राजधानी बनाउने मन्त्रिपरिषद्को निर्णय - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

बुटवल–भैरहवालाई वित्तीय राजधानी बनाउने मन्त्रिपरिषद्को निर्णय



बुटवल- रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने प्रदेश ५ सरकारले निर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले बुद्धजन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित क्षेत्र उजागर गर्ने भन्दै यी तीन जिल्ला समेटेर सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने निर्णय गरेको हो ।

रूपन्देहीको बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने निर्णय गरेको बताइएको छ ।

अस्थायी राजधानी स्थायी रूपमा दाङको देउखुरी लैजाने प्रस्तावले चिढिएका सत्तापक्षका प्रदेशसभा सदस्यलाई सान्त्वना दिलाउन मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो ।

यसका अलावा कपिलवस्तुको शिवराज नगरपालिकामा सरुवा रोग नियन्त्रणसम्बन्धी अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय छ । अस्पतालका लागि वन क्षेत्रको ९ बिघा जग्गा उपलब्ध गराउने निर्णय भएको छ ।

यसअघि सोमबार भएको नेकपा संसदीय दलको बैठकमा भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले उक्त प्रस्ताव पेस गरेका थिए । चौधरीको प्रस्तावलाई नेकपा संसदीय दलबाट निर्णय गराएर मन्त्रिपरिषद्मा लगिएको थियो ।

मन्त्रिपरिषद्का उक्त निर्णय मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाबाट सार्वजनिक गर्ने तयारी छ ।