प्रश्नपत्र ‘आउट’ : प्रदेश नं २ तनावग्रस्त - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

प्रश्नपत्र ‘आउट’ : प्रदेश नं २ तनावग्रस्त



वीरगञ्ज- आज हुने एसइई परीक्षामा प्रदेश नं २ को समाजिक विषयको प्रश्नपत्र फेसबुकबाट ‘आउट’ भएको पुष्टि भएपछि सोको विरोधमा विद्यार्थीले नाराबाजी गरेपछि वीरगञ्जको घण्टाघर क्षेत्र तनावग्रस्त भएको छ ।

सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक डाकेको थियो । बोर्डले बिहान साढे ७ बजे प्रदेश नं २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्नपत्र आउट भएको पुष्टि भएपछि आज शुक्रबार हुने भनिएको सामाजिक विषयको परीक्षा रद्द गरिएको विरोधमा विद्यार्थीले जिल्ला प्रशासन कार्यालय पर्सामा विरोध जुलुस प्रदर्शन गर्दै नाराबाजी गरेका छन् । विद्यार्थीको सो जुलुसले घण्टाघरमा पुगी टायर बालेर विरोध जनाएको छ ।

विद्यार्थीले घण्टाघरमा रहेको प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ लेखेको नारासहितको साइनबोर्ड तोडफोड गरेका छन् । त्यसैगरी विद्यार्थीले रु आठ लाखको लागतमा निर्माण भएको सोलारसहितको ट्राफिक बिट र ट्राफिक व्यवस्थापनका लागि घण्टाघरमा राखिएको ट्राफिक सङ्केत भएको बोर्ड तोडफोड गरेका छन् र वीरगञ्ज बजार बन्द गराउँदै हिडेका छन् ।

घण्टाघरचोकमा विद्यार्थीले प्रदर्शन र सडक अवरुद्ध पारेपछि प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ । प्रदेश नं २ मा सामाजिक विषयको परीक्षा रद्द भएपछि प्रदेश नं २ का ८ जिल्लाका ७२ हजार ४९ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । बिहीबार पनि सप्तरीमा विज्ञान विषयको प्रश्नपत्र आउट भएपछि प्रदेश नं २ मा सो विषयको परीक्षा रद्द गरिएको थियो ।