यसकारण भयो प्रदेश २ मा सत्ता सहकार्य
‘संघीयताको पक्षमा प्राप्त जनादेश न आकस्मिक हो न चामत्कारिक। संघीयता प्राप्तिको मूल आधार त बलिदानीपूर्ण मधेस आन्दोलन हो। अहिलेको केन्द्रीय सरकार संघीयता मात्र नभई संविधानकै हत्या गर्न उद्यत छ। यसलाई जोगाउन सबै एकजुट हुनु आवश्यक छ।’
प्रदेश २ प्रदेशसभाको छैटौं बैठकमा जनता समाजवादी पार्टी (जसपा) का उपनेता रामआशिष यादवद्वारा व्यक्त यो भनाइप्रति यहाँका सबै दलको सहमति छ। आर्थिक समृद्धि, समावेशिता, संघीयतालाई संस्थागत गर्नुपर्ने बेला राजनीतिक दलहरू अझै सत्ताकै खेलमा अल्झिनु दुःखद रहेको उनले बताए। यसकारण संघीयता र समावेशितामाथिको प्रहार उचित नभएको र यसको रक्षाका लागि सबैलाई एकजुट हुनुपर्ने धारणा उनले राखेका थिए।
नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले संविधानमाथि भइरहेको प्रहारको रक्षार्थ परिवर्तनकारी शक्ति मिलेर लड्नुको विकल्प नभएको उल्लेख गरे। ‘मुलुकमा संघीयता, गणतन्त्रलगायत परिवर्तन चामत्कारिक रूपमा आएको होइन,’ उनले भने, ‘धेरै सपूतहरूको बलिदानीबाट आएको परिवर्तनको रक्षा गर्न दिलोज्यान दिएर लाग्नुपर्छ।’
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले संघीयता, गणतन्त्र, समावेशिताको मुद्दा संविधानमा संस्थागत भए पनि अहिलेको शासक यसलाई बलियो पार्नभन्दा पनि सिध्याउनतिर उद्यत रहेको बताए। अहिलेको शासकका कारण नेपाली जनताको शिर निहुरिएको उनको भनाइ थियो। उनका अनुसार देश तीव्र रूपमा ध्रुवीकरणतर्फ उन्मुख छ। एकथरी अग्रगमनतर्फ र अर्कोथरी प्रतिगमनतर्फ अघि बढिरहेका छन्। प्रतिगमनकारी शक्ति पहिचानवादीलाई समेत विखण्डित तुल्याएर त्यससँग सम्बन्धित मुद्दालाई कमजोर गर्न अग्रसर देखिएको साहको भनाय थियो। प्रतिगमनकारीले जति शक्ति लगाए पनि अग्रगमनसँग पराजित भएरै छाड्ने दाबी उनले गरे। अहिले देशैभरि प्रतिगमनविरुद्धको मोर्चा कसिलो पार्ने लहर चलिरहेको उनले बताए।
केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेकै माधवकुमार नेपाल समूह, जनता समाजवादी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले गठबन्धन कसिलो बनाउँदै लगेका छन्। पार्टीभित्र मात्र नभएर मुलुकमा समेत स्वेच्छाचारी ढंगले शासन व्यवस्था सञ्चालन गर्न थालेपछि ओलीविरुद्ध मोर्चा कसेको विपक्षी गठबन्धनले प्रदेशमा समेत यो अभियान फैलाउँदै लगेको छ।
ओली नेतृत्वको एमाले, माओवादी केन्द्रसहितका दलले २०७४ सालको आम निर्वाचनमा तालमेल गर्दा कांग्रेस केन्द्रदेखि प्रदेशसम्म सत्ताबाहिर पुगेको थियो। तर एमाले र माओवादी केन्द्र अलग्गिएसँगै नेपाली कांग्रेस केन्द्रदेखि प्रदेशसम्म सत्तारोहणनजिक पुगेको छ। तीन वर्षअघि एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको कलहले दुई पार्टी पुरानै अवस्थामा फर्काइएपछि कांग्रेसका लागि सत्तारोहण सहज बनेको हो। त्यसमा पनि एमालेकै नेपाल समूह ओलीको विपक्षमा उभिएपछि कांग्रेसलाई प्रदेश २ सरकारमा सहभागी हुन सहज बनेको हो।
प्रदेश २ सरकारबाट जसपा अध्यक्ष महन्थ ठाकुर पक्षलाई हटाएर उपेन्द्र पक्षले कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउने पहल गरेको थियो। कांग्रेस तीन महत्वपूर्ण मन्त्रालयसहित सत्ता सहकार्यमा सहभागी भइ नै सकेको छ भने माओवादी केन्द्रले पनि सरकारमा सहभागिता पक्का गरिसकेको छ। सत्ता साझेदारी गराउने प्रयत्नका लागि जसपा अध्यक्ष उपेन्द्र यादव जनकपुरमै छन्। कांग्रेससँग कुरा मिलिसकेपछि अब माओवादी केन्द्रका नेताहरूसँगको छलफलमा उनी केन्द्रित भएका छन्। जसपाद्वारा वार्ताका लागि गठित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय सम्मिलित समिति अहिले सक्रिय भएर लागेको छ।
जसपाले कांग्रेसलाई दुई मन्त्री र दुई राज्यमन्त्री तथा माओवादी केन्द्रलाई एक मन्त्री र एक राज्यमन्त्री लिन प्रस्ताव गरेको थियो। सुरुमा मुख्यमन्त्री दाबी गरेको कांग्रेसले तीन मन्त्रालय मागेपछि बुधबार दिनभरिको छलफलबाट सोहीअनुरूप नै सहमति भएको थियो। माओवादीले पनि तीनवटा मन्त्रालय दाबी गरेको छ। ‘हामीले तीन मन्त्रालय मागेका छौं, उहाँहरूले एउटाको कुरा गर्नुभएको छ,’ माओवादी केन्द्रका प्रमुख सचेतक दिलीप साहले भने, ‘तर छलफल सकारात्मक रूपमा अघि बढिरहेको छ।’ दुईवटा मन्त्रालयमा कुरा मिलिसकेको समेत उनले बताए।’
यस्तो छ अंक गणित
प्रदेश २ मा हाल १ सय ४ जना सांसद छन। यसअघि १ सय ७ सांसद रहे पनि माओवादी केन्द्रले तीन सांसदलाई निष्कासन गरेपछि सो संख्या १ सय ४ मा झरेको हो। प्रदेशमा अहिले सबैभन्दा ठूलो दल जसपा नै हो। जसपाको दुवै पक्षका (समाजवादी र राजपा) गरी ५५ सांसद छन्।
तीन मन्त्रालयसहित कांग्रेस सरकारमा
प्रदेश २ मा नेपाली कांग्रेस जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारमा सहभागी भएको छ। कांग्रेस प्रदेश संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा तीन महत्वपूर्ण मन्त्रालयसहित कांग्रेस सरकारमा सहभागी भएका हो। यसका लागि कांग्रेस र जसपाबीच दुईबुँदे सहमति भएको थियो।
नवनियुक्त मन्त्री रामसरोज यादवलाई भौतिक पूर्वाधार, यातायात तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी प्राप्त भएको छ। त्यस्तै कांग्रेस सांसदहरू ओमप्रकाश शर्मा र वीरेन्द्र सिंहले क्रमशः ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनीहरूले बुधबार राति नै शपथग्रहण गरिसकेका छन्। कांग्रेस सरकारमा गएपछि पहिलाभन्दा फरक शैलीमा सरकार अघि बढ्ने मन्त्री रामसरोजले बताए। उनले नागरिकसँग भने, ‘अहिले नै धेरै भन्दिनँ तर सरकारको कामकाज पहिलाको भन्दा राम्रो तरिकाले अघि बढ्छ।’
माओवादी केन्द्रसँग मन्त्रालयकोे विषयमा टुंगो लाग्न ढिलाइ भएपछि साढे ७ बजेका लागि तय गरिएको नयाँ मन्त्रीहरूको शपथग्रहणमा ढिलाइ भएको थियो। माओवादी केन्द्रसँग जसपाको वार्ता टोलीको छलफल जारी राखेको छ। मन्त्रालय टुंगो लाग्नेबित्तिकै उक्त दल पनि सरकारमा सहभागी हुने जसपाकातर्फबाट गठित वार्ता टोलीले जनाएको नागरिकमा खबर छ ।