प्रदीप ज्ञवाली भन्छन्: घरायसी सामान र पुस्तकबाहेक मेरो सम्पति बढेको छैन - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

प्रदीप ज्ञवाली भन्छन्: घरायसी सामान र पुस्तकबाहेक मेरो सम्पति बढेको छैन



काठमाडौं- सरकारको महत्वपुर्ण मन्त्रालय सम्हालेका एमालेका प्रभावशाली नेता प्रदीप ज्ञवाली मन्त्रिपरिषद्बाट बाहिरिएका छन् । लामो समय मन्त्री बन्दा अरूजस्तो विवादमा नआएका ज्ञवालीलाई प्रधानमन्त्रीले किन हटाए खुल्न सकेको छैन । तर ज्ञवालीले भने यो सल्लाहमै भएको बताएका छन्।

उनले सरकारबाट बाहिरिए लगत्तै आफूले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) शुक्रबार नै मन्त्रालयलाई फिर्ता गरेको बताएका छन् । उनले यो अवधिमा केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनुबाहेक मन्त्री बने लगत्तै सार्वजनिक आफ्नो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको पनि बताएका छन् ।

मन्त्रीमा रहँदा आफूले तीन लाख ७२ हजार कर बुझाएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका नेताहरूसहित पार्टीका केही नयाँ अनुहार ल्याएर शुक्रबार मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका थिए ।

शुक्रबार राति ज्ञवालीले आफू सरकारमा रहँदा विदेश भ्रमण बापतको लेभी ३,१४,९३० रुपैयाँ र पारिश्रमिक बापतको लेभी ६,२०,००० गरी जम्मा ९,३४,९३० पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१ रुपैयाँ सरकारी कोषमा दाखिला भएको जनाएका छन् ।

उनले हाल आफ्नो खातामा ७,४१,७७५ रुपैयाँ बचत रहेको पनि बताएका छन् । साथै उनले पुल्चोकस्थित सरकारी निवास शनिबार बिहान छाड्ने पनि जनाएका छन् । उनले नवनियुक्त मन्त्रीहरूलाई बधाई तथा शुभकामना पनि दिएका छन् ।

यस्तो छ उनको स्पष्टोक्ति

धन्यवाद तथा आभार

करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा कार्यरत रहेर विदा भएको छु । यस्तो गरिमापूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु । दायित्व सम्पादन गर्ने क्रममा प्राप्त सहयोग, प्रदर्शित टिम स्पिरिट एवं परिवार–सदृश वातावरण निर्माणका लागि मन्त्रालयका सचिवहरु शङ्करदास वैरागी (सम्प्रति मुख्यसचिव), भरतराज पौड्याल एवं समस्त परराष्ट्र मन्त्रालय परिवारलाई धन्यवाद ज्ञापन गर्दछु । समकक्षी विदेशमन्त्रीहरु, संयुक्त राष्ट्र सङ्घ लगायत वहुपक्षीय र क्षेत्रीय सङ्गठनका प्रतिनिधिहरु तथा नेपालस्थित विदेशी नियोगहरुबाट प्राप्त सद्भाव र उहाँहरुसँगको सहकार्य मेरा लागि अविस्मरणीय रहने छ । सहकर्मी मन्त्रीहरुज्यूहरुसँगको बसाइलाई सधैभरि सम्झिरहने छु । यस अवधिमा सञ्चारकर्मी साथीहरु एवं पूर्व कुटनीतिज्ञ, विज्ञ एवं यस क्षेत्रका जानकारहरुबाट कार्यसम्पादनमा प्राप्त सहयोग मेरा लागि मूल्यवान रहेको छ । मलाई यो अवसरको ढोका खोलिदिने गुल्मी–१ का मतदाताहरुप्रति कृतज्ञ छु ।

नयाँ जिम्मेवारीसहित गठित मन्त्रिपरिषद्का सबै सदस्यहरुलाई वधाइ तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।
यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३०। र पारिश्रमिक बापत्को लेभी ६,२०,०००। गरी जम्मा ९,३४,९३०। पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१।१३ सरकारी कोषमा दाखिला भएको छ । हाल मेरो खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बने लगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।

मैले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) आजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोक स्थित सरकारी निवास भोलि बिहान छाड्ने जानकारी गराउन चाहन्छु ।

यस अवधिमा मप्रति माया, सद्भाव र शुभकामना व्यक्त गर्नु हुने सबैलाई धेरै धेरै धन्यवाद ।
भिन्न स्वरुपमा तपाइँहरुसँग भेट भइरहने र तपाईँहरुबाट सद्भाव प्राप्त भइरहने विश्वास लिएको छु ।
प्रदीप ज्ञवाली
२१ जेठ २०७८