प्रदीप ज्ञवालीको भाषा फेरियो, भन्छन: भौतिक पूर्वधारलाई मात्र विकास होइन
कावासोती । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भौतिक पूर्वधार निर्माणलाई मात्र विकास मान्ने मानसिकता त्याग्न आग्रह गरेका छन् ।
शुक्रबार नवलपरासीको देवचुलीमा आयोजित ‘बालमैत्री नगरपालिका’ घोषणासभामा उनले भने, ‘विकास भनेको ठूल्ठूला बाटोघाटो, पुल, विद्यालय भवनलगायत भौतिक पूर्वधारलाई मात्र विकास मान्ने भ्रमित मानसिकतालाई त्याग्न जरुरी छ ।’
मन्त्री ज्ञवालीले विकासको महत्वपूर्ण पक्ष भनेको मानवीय र त्यसमा पनि बालबालिकाको विकास भएको उल्लेख गर्दै महिला, बालबालिकाको अवस्थाबाट नै त्यस समाजको विकासको समग्र तस्बीरलाई प्रतिबिम्बित गरेको हुन्छ भने ।
बालबालिकाको अधिकार र सुरक्षाका लागि राज्यले नेतृत्वदायी भूमिका खेल्नेमा कुनै शंका नरहेको बताउँदै उनले बालबालिकाको विकासमा सरकारसंगै समुदाय र परिवारको पनि उतिकै दायित्व रहेको धारणा व्यक्त गरे ।
नवलपरासी बर्दघाट सुस्तापूर्वको देवचुली नगरपालिका देशको दोस्रो तथा गण्डकी प्रदेशको पहिलो बालमैत्री स्थानीय तहका रुपमा घोषणा भएको हो । यसअघि नवलपरासी पश्चिमको सुनवल नगरपालिका देशको पहिलो बालमैत्री स्थानीय तहका रुपमा घोषणा भइसकेको बताइएको छ ।