देउवामाथि प्रदीप ज्ञवालीको व्यंग्य: पहिले श्री ५ ले, अहिले श्रीमान् ५ ले नियुक्त गरे
काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेकपा एमालेको तर्फबाट प्रदीप ज्ञवालीले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा ज्ञवालीले ‘पटक–पटक असफल’ भइसकेका देउवालाई ‘म कसरी शुभकामना भनौँ’ भनेका छन् ।
संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले बिश्वासको मत मागेपछि छलफलमा आएका ज्ञवालीले शुभकामना दिन नसकिने बताएका हुन् । ज्ञवालीले प्रधानमन्त्री देउवालई श्री पाँच (राजा) ले न्याय दिएको र अहिले श्रीमान् ५ (पाँच न्यायाधीश) ले न्याय दिएर प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन् ।
छलफलमा नेकपा (एमाले) को प्रतिनिधित्व गर्दै ज्ञवालीले देउवा तीन-तीन पटक नेपाली कांग्रेसभित्रको विभाजनको शिकार भएको स्मरण गरे ।
ज्ञवालीले भने– “इतिहास दुइपटक दोहोरिन्छ । अहिले इतिहास विद्रुप भएर दोहोरिएको छ । २०५१ सालमा गिरिजाप्रसाद कोइरालाको सरकार नीति तथा कार्यक्रममा कांग्रेसकै ३६ जना सांसद अनुपस्थित भएर सरकार नै ढल्यो । ५३ सालमा शेरबहादुर देउवाजी नै प्रधानमन्त्री हुनुहुन्थ्यो, आफ्नै दलका दुइजना अनुपस्थित भएर सरकार ढल्यो । ५९ साल जेठमा संकटकालिन प्रस्तावमा उहाँकै पार्टीले समर्थन गरेन । पछि उहाँलाई चुनाव गराउन नसकेको आरोपमा पदबाट बखास्थ गरियो । त्यसैले पहिले तीन–तीन पटक दल विभाजन भएर सरकारबाट बाहिरिएका शेरबहादुर देउवा अहिले ७६(५)को अपव्याख्याबाट प्रधानमन्त्री बन्नुभएको छ । २००६ सालमा स्थापित कम्युनिस्ट पार्टीलाई ८ सालमा कांग्रेससमेत संलग्न सरकारले प्रतिबन्ध लगाएको थियो । त्यसपछि त कत्ति कत्ति । त्यसैले हामीलाई प्रतिपक्षमा बस्नु र प्रतिबन्धित हुनु सामान्य लाग्छ ।”