प्रदीप ज्ञवालीले भने: सर्वोच्चको आदेश ठिक छैन - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

प्रदीप ज्ञवालीले भने: सर्वोच्चको आदेश ठिक छैन



काठमाडौं- सत्तारुढ नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेश ठिक नभएको बताएका छन् । उनले यो आदेशले धेरै समस्या निम्त्याउने भन्दै ठिक नभएको बताएका हुन्

उनले मन्त्रिपरिषद् पुनर्गठन र विस्तारको निर्णयविरुद्ध सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई अप्रत्यासित भन्दै यसले देशलाई जटिलतातर्फा धकेल्ने बताएका छन् ।

एमाले प्रवक्ता ज्ञवालीले सर्वोच्चको निर्णय अप्रत्यासित रहेको र यसले राजनीतिक रुपमा पनि धेरै जटिलताहरु ल्याउने बताए । ज्ञवालीले यसबारे पार्टीको बैठक बसेर थप धारणा सार्वजनिक गर्ने बताए।

सर्वाेच्चको फैसलालाई लिएर पार्टीले बैठक राखी छलफल गर्ने र त्यसपछि आधिकारिक धारणा सार्वजनिक गरिने पनि ज्ञवालीले बताए । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको मंगलबारको इजलासले प्रतिनिधि सभा विघटनपछि थपिएका मन्त्रीरुलाई काम गर्न नदिन अन्तरिम आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधि सभा विघटन गरेको काम चलाउन चुनावी सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने उल्लेख गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चको यो फैसलाले प्रधानमन्त्रीसहित पाँचजनाबाहेक सबै मन्त्री पदमुक्त भएका छन् ।

सर्वोच्चले प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गरिसकेका कामचलाउ प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् विस्तार वा थप गर्ने अधिकार नभएकोसमेत व्याख्या गरेको छ।