प्रचण्डको ओरालो यात्रा र विप्लवलाई इतिहास निर्माण गर्ने अवसर - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रचण्डको ओरालो यात्रा र विप्लवलाई इतिहास निर्माण गर्ने अवसर



-डायमण्ड म्याग्देली

इतिहास निर्माण गर्ने अवसर खास-खास समयमा विशेष व्यक्तिलाई प्राप्त हुने गर्दछ, कसैको इच्छा र रहरले भन्दा पनि विशेष परिस्थितिको सिर्जना,त्यसमा भूमिका निर्वाह गर्न सक्ने  उपयुक्त पात्र, जसको व्यक्तित्व,चरित्र,हिम्मत र क्रियाशीलता ले परिस्थिति लाई आफ्नो काबुमा राखेर सही दिशामा अगाडी बढ्न सकोस्. नेपाली राजनीतिमा अझ नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा २०५२ साल फाल्गुण १ देखी सुरु भएको जनयुद्ध त्यस्तै एक विशेष र एेतिहासिंक राजनीतिक परिघतना थियो र त्यसको नेतृत्व गर्ने अवसर प्रचण्ड लाई मिलेको थियो।

वि.स. २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी राजनीतिक घटनाक्रम को फेरबदल,भिन्न-भिन्न राजनीतिक कार्यदिशाको खोलभित्र हुर्कँदै गरेको गैह्र क्रान्तिकारी , निम्न पुजिँवादी चिन्तन,त्यसले जन्माएको व्यक्तिगत इगो र तकराव का कारण गुट, टुटफुट,विभाजनको अन्त्यहिन श्रृंखला वाट गुज्रँदै थियो.यसरी आरोप-प्रत्यारोप टुटफुट र विभाजनले पार्टी र कम्युनिस्ट आन्दोलन रक्षात्मक र कमजोर बन्दै थियो।  २०१७ सालमा राजा महेन्द्रले कु गरेर निरङ्कुश पञ्चायती व्यवस्था लड्नु, केही समूहले २०२८ सालमा असफल झापा विद्रोह गर्नु. २०४६ सालको संयुक्त(कांग्रेस+वाम मोर्चा )जनआन्दोलन पछि बहुदलीय संसदीय व्यवस्थाको पुन स्थापना ,केही राजनीतिक दल,दरबार र बाहिरी शक्ति केन्द्रको सहमतिमा” नेपालको संविधान २०४७ ” घोषणा भएको अवस्थामा नयाँ जनवादी क्रान्तिको पक्षधर क्रान्तिकारी शक्तिको लागी चुनौती र अवसर सामुन्ने आएको थियो। 

टुटफुट र विभाजनको श्रृंखला वाट गुज्रँदै गरेको क्रान्तिकारी शक्तिलाई एकतावद्द गर्ने कुरा त्यति सहज थिएन र त्यो भन्दा अझै कठिन विषय त एकता सँगै जनयुद्धमा हाम फाल्नु थियो।  भर्खर ठुलो जनसहभागितामा २०४६ सालको जनआन्दोलन भएको ताजा स्थिति त्यसपछि संविधान २०४७ घोषणा भए सँगै सम्पूर्ण पुजिँवादी संसदीय शक्तिहरू विश्वकै उत्कृष्ट संविधान बनायौँ भन्ने हवाला दिँदै त्यसको प्रचार-प्रसार र कार्यन्वयनको चरणमा लाग्दै गर्दा यता क्रान्तिकारी शक्तिले तिनीहरूले जनतामा छरेका भ्रमहरूलाई चिर्दै जनयुद्धको सुरुबाट गर्ने र आम जनतालाई परिचालन गर्ने कुरा कम चानचुने थिएन। तर पनि तत्कालीन अवस्थामा पार्टीको नेतृत्व गरिरहेका प्रचण्डको कुशल/सुझवुझपुर्ण नेतृत्व र साहसिक कदमको कारण एेतिहासिक जनयुद्धको सुरुवात मात्र भएन कि बरु एक पछि अर्को सफलताको सिँढी चढ्दै अगाडी बढ्दै गयो।  पुरानो राज्यसत्तामा तीव्र अन्तर विरोध र फुट सिर्जना हुँदै गयो उसको अन्तिम सैन्य शक्तिलाई बराबरीको हैसियतमा खुम्चिन बाध्य पार्‍यो।

यसरी १० वर्षे जनयुद्धको अवधि मध्ये झन्डै आठ वर्ष छिमेकी देशको भूगोलमा आश्रय लिए पनि स्याटेलाईट फोन संवाद/आदेश कै भरमा कुशलतापूर्वक जनयुद्धको नेतृत्व गर्न सक्ने उनको खुबीलाई कसैले नकारेको थिएन. जब २०६१ तिर बाबुराम भट्टराई सँग अन्तर विरोध चर्कियो तब छिमेकी देशमा लिइरहेको सेल्टर पुरै असुरक्षित महसुस हुन थाल्यो त्यसपछि रातारात नेपाल भित्रिएर केन्द्रीय आधार इलाकातिर सेल्टर सिफ्ट गरेको तथ्य पनि धेरै माध्यमवाट पहिल्यै सार्वजनिक भैसकेको छ ।  त्यही समयमा जमिन मोर्चामा दुस्मनलाई हायल-कायल बनाइरहेको जनमुक्ति सेना उसको हवाई जाशुसी र नाइट भिजन हेलिकप्टरको सपोर्ट र आक्रमणले अलि बढी क्षति व्यहोर्न र कतिपय अवस्थामा मोर्चा निस्किदिन रिट्रिट हुन बाध्य भएकै हो।  त्यस्तो अवस्थामा जनमुक्ति सेनाको लागी हवाई आक्रमणको प्रतिरोध गर्ने प्रविधि आवश्यक थियो।  आपुर्टी हुनुपर्थ्यो.।  सिङ्गो जनमुक्ति सेनाको एक मात्र साझा माग त्यही नै थियो।  एन्टी एयर क्राफ्ट विपन मात्र आपुर्टी हुन सक्यो भने दुस्मन लाई पुर्णतया परास्त गर्न सकिन्छ भन्ने आत्मविश्वास थियो तर तत्कालीन सुप्रिम कमान्डर प्रचण्डको दिमागमा के थियो त्यति वेलै थाहा हुने कुरै भएन।

बिस्तारै बल्ल थाहा हुन थाल्यो सुप्रिम कमान्डर त छिमेकी देश छोडेर नेपाल आई केन्द्रीय आधार इलाका छिरेको केही दिनमै सेल्टर नजिक-नजिक दिनहुँ जसो बम पड्किने.जता निस्क्यो त्यतै टाउको माथि माथि दुस्मनको हेलिकप्टर घुम्ने र गोलाबारी गर्ने ।  आफैले जनमुक्ति सेना लाई प्रत्यक्ष रूपमा अन्तिम निर्देशनमूलक प्रशिक्षण दिएर नजिकबाट कमान्ड गरेको खारा मोर्चा असफल हुनु आदी कारणले उनको होस-हवास उडिसकेको. उनको मनोबल पुरै गिरेको रहेछ भन्ने अनुमान गलत थिएन. यसरी जब उनले नजिक वाट बम वारुड को धमाका अनुभूत गरे तब उनलाई लाग्न थाल्यो काल ले आफ्नो पिछा गरिरहेको छ।   त्यति बेला उनले न त जनयुद्ध सुरु गर्दाको प्रतिबद्धता सम्झे न त हजारौँ को बलिदान,बहादुरी,त्याग र समर्पण सम्झे बरु सुरक्षित अवतरण को लागी बाटो बदल्ने सोचमा पुगिसकेको तथ्य बिस्तारै सार्वजनिक हुन थाल्यो ।  तर पनि तत्कालीन अवस्थामा फिल्ड कमान्डर हरूबाट त्यस्तो प्रविधि आपुर्टी हुन्छ भन्ने आश्वासन आउन छोडेन तर…… आउन त आयो तर अर्कै चिज आयो त्यो थियो दिल्लीमा तत्कालीन सांसदवादी दल र माओवादी बिच भएको कथित १२ बुँदे सम्झौता जो एमाले र माओवादी बिच सत्ता साझेदारी बारे पहिल्यै रोल्पा मा भएको सहमति विरुद्ध मात्र थिएन बरु पुरै जनयुद्ध र त्यसको म्यान्डेट विपरीत थियो। किनकि त्यसैको आधारमा ०६२/०६३ को आन्दोलन भयो संसदवादीहरुले आफ्नो गुमेको स्वर्ग पाए तर माओवादी आन्दोलन विसर्जनतिर अगाडी बढ्यो र प्रचण्डको ओरालो यात्रा सुरु भयो।  यो नै माओवादी जनयुद्ध विसर्जन गर्ने पहिलो कडी र मुख्य नेतृत्व प्रचण्डको ओरालो यात्रा सुरुवात गर्ने घुम्टी थियो।

लेखक

त्यहाँदेखि सुरु भएको विचलनको यात्रा विस्तृत शान्ति सम्झौताको नाममा जनयुद्ध,जनसत्ता,जनअदालतको अन्त्य र विघटन,जनमुक्ति सेनाको विसर्जन र हतियार राज्यलाई हस्तान्तरण,प्रतिगामी संविधान निर्माण सम्म पुग्यो,अहिले आएर जनयुद्धका कट्टर विरोधी जनयुद्धलाई उग्रवामपंथी भड्काव देख्ने,सत्तोसराप,खिसी-तिउरी गर्ने। अत्यन्त हलुका तिप्पनि र व्यङ्ग्य गर्ने। दक्षिणपन्थी संशोधनवादी कित्तामा निजी राजनीतिक जीवन रक्षाको लागी राजनीतिक शरणार्थीको रूपमा प्रवेश गर्नुलाई प्रचण्ड पतनको अन्तिम पाटोको रूपमा बुझिएन भने अन्यथा हुनेछ।

यसरी जनयुद्धको प्रमुख पहल कर्ता नेतृत्व कर्ता हुँदै जनयुद्धको मुख्य अवधिभर क्रान्तिकारी नायकको रूपमा चर्चित रही उदाएको पात्र आज आफ्नै नेतृत्वमा निर्मित रक्त रञ्जित इतिहासमा कालो पोत्दै खलनायकमा परिणत भैसकेपछी जनयुद्धको त्यो महान् र एेतिहासिक विरासतलाई जोगाउँदै त्यही जगमा टेकेर जनयुद्धको अधुरो र अलपत्र सपना लाई पुरा गर्न कोही न कोही त जन्मनै पर्थ्यो र त्यै कोही मध्ये कमरेड विप्लवलाई नयाँ क्रान्तिको नेतृत्वको रूपमा इतिहासले जन्माएको छ ।  यसमा आम माओवादी पङ्क्ति, शोषित-पीडित मुक्तिकामी आम जनसमुदाय र सिङ्गो देशले गर्व गर्नुपर्छ।  हुन त एक हुल मान्छेहरू यसो पनि भन्छन् कि विप्लव सांसद,मन्त्री बन्ने अवसर नपाएर वा जनयुद्धको नायक र आजको खलनायक जस्तै बन्ने महत्वकांक्षाले अलग राजनीतिक धारबाट अगाडी वढ्दैछन । तर यो निराधार आरोप र राजनीतिक पूर्वाग्रह अनि कुण्ठाले भरिएको आतङ्कित र हतोत्साही अभिव्यक्ति बाहेक अरू हुनै सक्दैन।  किनकि विप्लवले हिजो सँगै हुँदा पार्टीमा यो सुविधा जिम्मेवारी मैले पाउनुपर्छ भनेर दाबी गरेको र पार्टीले अयोग्य घोषित गर्दै सबै अवसरवाट वञ्चित गरेको छ भन्ने निर्णय भएको सर्कुलर आजसम्म पनि कतै फेला परेको छैन।

यदि कसैसँग छ भने सार्वजनिक गर्न चुनौती दिइन्छ।  विप्लवको आज सम्मको राजनीतिक करियरमा कुनै दाग लागेको कसैले देखाउन सक्छ भने देखाओस् त्यसलाई सार्वजनिक रूपमै पुरस्कृत गर्न सकिन्छ। तर उनको स्वच्छ र पारदर्शी राजनीतिक जीवनशैली.निरन्तर अविचलित क्रान्तिकारी यात्रा.देश र जनताप्रतिको ईमान्दारिता ,जिम्मेवारीवोध सहित जोखिम मोलेर साहसिक कदम चालेर लोकप्रिय बन्दै अगाडी बढेको देख्दा पूर्वाग्रहले वर्वराउने हरूलाई अरू के नै भन्नु छ र.. जसले जे कुतर्क गरे पनि र संसदीय शक्तिले नजरअन्दाज गर्न खोजेपनी पछिल्ला घटनाक्रमले केही तथ्यको उजागर गरेको छ ।

देश र जनताको एजेन्डा सहित महाअभियानमा लामवद्द राजनीतिक शक्तिलाई वर्तमान सरकारले दमन गरेर सक्ने सपना देखेकै हो तर क्रान्तिकारी शक्ति त कसरी पो सकिन्थ्यो र बरु ओली सरकार नराम्रो सँग नांगियो. एकातिर वार्ताको नाटक गर्ने अर्कोतिर दमन लाई जारी राख्ने. सरकारको यस्तो रवैया प्रति न्यायालय,मानवअधिकार आयोग,सुरक्षा निकाय,पत्रकार,कतिपय स्वतन्त्र लेखक हरू र अन्य पार्टीका नेता/कार्यकर्ताले आपत्ति जनाउँदै राजनीतिक शक्तिको रूपमा स्वीकार गर्दै वार्ता वाट निकास खोज्न दबाब दिने कुरा निकै अर्थपूर्ण छ। यसले राज्यको वैकल्पिक उदयमान शक्ति ने क पा र त्यसको नेतृत्व विप्लव हो भन्ने प्रस्ट संकेट गरेको छ ।

अन्त्यमा यो दलाल पुँजीवादी संसदीय व्यवस्था देश र जनताको हितमा कहिल्यै हुन सक्दैन भन्ने कुरा विगतदेखि भन्दै आएकै हो।  यति बेला कथित २ तिहाइको ओली सरकार देशमा छ तर यति निरीह छ कि यो हाम्रो आरोप हैन स्वयम् प्रम ओली उनका क्याबिनेटका मन्त्रीहरू र पार्टीका नेता/कार्यकर्ताले बकाइदा बोलेको र काम कारबाहीले पुष्टि गरेको कुरा हो। २ महिना भन्दा बढी हुँदा सम्म एउटा बलात्कारी,अपराधी पत्ता लगाउन सक्दैन भने यो भन्दा निरिहता र नालायकिपन अरू के हुन सक्छ? उनीहरूकै भाषामा जनताले अस्वीकृत गरेका र हवल्दार शैली र स्वभाव बाहेक अरू कुनै खास क्षमता र योग्यता नभएका वामदेव लाई सांसद वनाउऩ राज्यको करोडौँ ढुकुटी खर्च गर्नुको के अर्थ छ ? अन्य तपसिलका कुरा त धेरै छन् त्यतातिर नजाअौं, समग्रमा यी दलालहरूले गर्ने हरेक गतिविधि देश र गरिब जनताको लागी अर्थहिन नै हुन्छन् त्यसैले अव पनि यो दलाल संसदीय व्यवस्थाको भ्रममा नपरौं। केही चुनौतीहरू त छन् नै तथापि सम्भावनाको क्षितिज पनि खुलिसकेको छ। क्रान्ति र इतिहासको अन्तिम पाटो हुँदैन भन्ने सच्चाइ लाई मनन गर्दै नेपाली जनताको आशाको केन्द्र कमरेड विप्लवको नेतृत्वमा गोलवन्द हुँदै एकीकृत जनक्रान्तिको माध्यमबाट जनताको सत्ता स्थापना सँगै नयाँ इतिहासको निर्माण गर्ने अभियानमा सरिक बनौँ क्रान्ति र क्रान्तिकारी जनताको जित सुनिश्चित छ !

उक्त लेख लेखकको नितान्त व्यतिगत विचार हो सम्पादकको कुनै भूमिका छैन।