प्रचण्ड र रवि लामिछानेका समर्थक बिच लफडा किन ?
कर्ण अधिकारी ।
केही दिन देखि सामाजिक सञ्जालहरूमा नेपालका पूर्व प्रधानमन्त्री एवं नेकपाको अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेपालका चर्चित पत्रकार रवि लामिछानेका सपोटरहरू बिच एक आपसमा सामाजिक सञ्जाल युद्ध भई रहेको अवस्थामा मैले पनि केही नलेखी बस्नै सकिन र लेख्ने जमर्को गरेको छु।लेखाइको क्रममा त्रुटि र कमी कम्जोरी हुन गए माफ गर्नु होला।मैले जे देखेको छु त्यही नै लेख्दै आएको छु।केही दिन अगाडी रवि लामिछानेले चलाउँदै आएको कार्यक्रम सिधा कुरा जनतासँगमा नेपालका पूर्व प्रधानमन्त्री कमरेड प्रचण्डले एक सार्वजनिक कार्यक्रममा निकै भावुक हुँदै डर र त्रासमा रुमलिएर विप्लव कमरेडका कार्यकर्ताले आफूलाई मार्न नं १ मा राखेको भन्दै अभिव्यक्ति दिए पश्चात् रवि लामिछानेले त्यसै विषयमा केन्द्रित भएर कमरेड प्रचण्डलाई दिएका काउण्टरका कारण कमरेड प्रचण्डका समर्थकहरूले रवि लामिछानेको शरीरलाई बेबारीसे लास बनाई दिने सम्म भन्न भ्याए भने रविका समर्थकहरूले पनि त्यसरी नै कमरेडहरू प्रति गाली गलौज गरी प्रतिकार शैलीमा उत्रिए भने बाँकी जनताहरू भने दुवैको चर्तिकला देख्दै मिश्रित प्रतिक्रिया दिन लागे।
रवि लामिछानेले प्रचण्डको विगत र बर्तमानको फेहरिस्त लगाउँदै विष बमन गरे झैँ वकालत गरे।१७ हजार नेपाली जनताको छोरा छोरी मर्दा बिचल्लित नभएका कमरेड आफूलाई मार्ने धम्की आउँदा किन डराएको ? आफ्ना परिवारका सदस्य बिरामी हुँदा विदेशमा उपचार गरिवका छोरा छोरी बिरामी हुँदा किन सिटामोल पनि नपाई मर्नु पर्ने ? कमरेड प्रचण्डका छोरी मेयर,बुहारी मन्त्री नाता गोता सबै सरकारी उच्च तहमा आखिर किन ? विप्लव माओवादी माथि किन प्रतिबन्ध ? साथै सानो टुक्का गीत कोही त भने जहाजमा सरर गरिबको पसिना तरर , कोही त मर्छन् अस्पताल नहेरी भन्ने कुरा भिजाएका थिए।यही कुराहरूले चित्त दुखाएका भन्दै नेकपाका आसे पासेहरू रवि माथि जाई लागेका हुन।
रवि लामिछाने नेपालका होनहार र नेपाली जनताको लागि नभई नहुने पत्रकार हुन।रविले विदेशमा अलपत्र परेका नेपाली चेली देखि लिएर स्वदेशमा दुख पीडा र न्याय नपाएर बोली बन्द गराइएका नेपाली जनताको आवाज बनेका छन्।यस्तो निडर पत्रकारको नेपालमा आवश्यकता नभएको चाहिँ पक्कै होइन तर रवि लामिछानेले पनि आफ्नो दायित्व र भूमिकालाई ख्यालै नगरी सरकारको माथिल्लो तहमा रहेका र पूर्व भएकाहरू प्रति राष्ट्रिय टेलिभिजनबाट घटिया अभिव्यक्ति दिँदा चाहिँ कतै चुकेका हुन की भन्ने आभास हुन्छ।आज नेपालका अधिकांश जनता रवि लामिछानेको पक्षमा देखिएको छ।जनतालाई जसले सहयोग गर्छ जनता उनीहरूकै पक्षमा बोल्ने हुन।रविले दिन रात नभनी जनताका हित र कामका लागि अहोरात्र खटिएर भ्रष्ट्राचारी,दलाली,बलात्कारीहरू विरुद्ध आवाज उठाई रहेका छन्।
त्यसै गरी कमरेड प्रचण्ड पनि चानचुने मान्छे चाहिँ पक्कै होइनन् गणतन्त्र नेपालका अभियन्ता साथै १० बर्से जनयुद्ध लड्दै १७ हजार भन्दा बढी जनता मार्ने र मराउने काम गर्दै राजतन्त्रको अन्त्ये गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापित गराउने नेपालका पूर्व प्रधानमन्त्री हुन्।यिनको आफ्नै हैसियत र उचाइ छ।पत्रकार राष्ट्रको चौंथौ अङ्ग भएका कारण सम्मानित व्यक्तिहरूलाई सम्मान गर्न सिक्नु पर्दछ।आफ्नो हैसियत भुल्नु हुँदैन।कमरेड प्रचण्ड सुप्रिम कमाण्डर भएर नेपाली जनताको हक हितका लागि १० बर्से जनयुद्ध लडी रहँदा पत्रकार रवि लामिछाने अमेरिकाको झन्डा ओढेर नेपाली पासपोर्ट त्यागेर अमेरिकी नागरिक बन्दै स्टोरमा काम गर्दै थिए।तसर्थ विगतमा कसको के थियो र कसले के गर्यो भन्नु भन्दा पनि हामीले राष्ट्रलाई वर्तमान समयमा के दिन सक्यौ भन्ने हो।
कमरेड प्रचण्डले पनि अर्बौँ रुपैयाँ घोटाला गर्यो भन्ने कुरा हामीले उहाँकै सहपाठी बाबुराम भट्टराईको मुखबाट नसुनेका होइनौ तर सम्पत्ति विवरणमा मात्र ३ तोला सुन देखाउने प्रचण्डका चुरी फुरी देख्दा चाहिँ पत्याउन सकिँदैन ।सायद नेपालका पूर्व प्रधानमन्त्रीका श्रीमती भएर हुन की कमरेड सीता दाहाल सिङ्गापुर हुँदै अहिले अमेरिकामा उपचारमा हुनु हुन्छ।अमेरिकाले दिएको निम्तोलाई सहर्ष स्वीकार गरी प्रचण्ड यति खेर अमेरिका घुम्दैछन्।अमेरिका गएसँगै आतङ्कारीको बिल्ला भिराउँदै तिलक श्रेष्ठले प्रचण्डका विरुद्धमा अमेरिकी सरकारलाई पत्राचार गरे पनि अमेरिकी सरकार नो इनभेष्टिगेशन सर्कुलर जारी गरेसंग प्रचण्डलाई कुनै खतरा भएन।नेपालका पूर्व प्रधानमन्त्री माथि नै प्रश्न वाचक चिन्ह खडा गर्दै आतङ्कारीको बिल्ला भिराउन खोज्नाले हाम्रो प्रतिष्ठा माथि नै प्रश्न वाचक चिन्ह खडा गरी दिएको छ।खैर आखिर जे जस्तो भए पनि रवि लामिछानेले आफ्नो पत्रकारिता मापदण्डमा सीमित भएर गर्नु पर्दछ भने कमरेड भन्नेहरूले पनि रवि लामिछानेको बेबारीसे लास बनाई दिन्छु भनेर सामाजिक सञ्जालमा वकालत गर्नु भएन्।आफ्ना पार्टीका नेताहरूले गलत गर्छन् भने नेताको विरुद्धमा आवाज उठाउनु कार्यकर्ताको धर्म हो।गल्तीलाई पनि सही भन्ने र मलद्वारालाई पनि हरिद्वार देख्नेहरूले देश संवृद्धि तिर उन्मुख भएको देख्न चाहँदैनन्।
उक्त लेख लेखकको व्यक्तिगत विचार हो ।