प्रचण्डले ओलीतर्फ संकेत गर्दै भने सरकार हाम्रो हातबाट फुत्कने खतरा छ - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

प्रचण्डले ओलीतर्फ संकेत गर्दै भने सरकार हाम्रो हातबाट फुत्कने खतरा छ



बुटवल, – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै दुई तिहाइ बहुमतको सरकारमा अभिमान जाग्यो र आफ्ना नैतिक कमजोरी देख्न छोडयो भने हेर्दा हेर्दै प्राप्त अवसर हातबाट फुत्किन सक्ने बताएका छन् ।

लोक अभियान नामक पाक्षिक पत्रिकाको आइतबार बुटवलमा बिमोचन गर्दे अध्यक्ष प्रचण्डले अहिले आफूहरुका अगाडि अवसर र चुनौती दुवै रहेकाले नैतिक कमीकमजोरी केलाउँदै आत्मआलोचना गरेर अगाडि बढनुपर्ने खाँचो औल्याए । ‘हामीमा अभिमान जाग्यो, घमण्ड आयो, आफना नैतिक कमीकमजोरी देख्न छोडयौं, जनताका आवाजलाई सुन्न छोडयौं भने सजिलै त्यो परिस्थितलाई प्रतिक्रान्तिको शक्तिले उपयोग गर्छ । हेर्दाहेर्दै स्थिती हाम्रो हातबाट फुत्कने खतरा रहन्छ’, अध्यक्ष प्रचण्डले भने ।

दुई तिहाइको कम्युनिस्ट सरकारले जनतालाई परिणाममुखी समृद्धि दिनुपर्ने भन्दै अध्यक्ष प्रचण्डले विश्व समुदायले पनि नेपालमा जनतालाई परिणाममुखी समृद्धि दिएर कम्युनिस्ट आन्दोलनको नयाँ लहर सृजना होला या पानीको फोका जस्तै झुल्केर अस्ताउला भनेर हेरिरहेको उल्लेख गरे ।

राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता, विकास र समृद्धि तथा समाजबाद जस्ता ऐतिहासिक उद्देश्यमा एकीकृत भएर अगाडि नबढे त्यसबाट उत्पन्न परिस्थिती दुर्भाग्यपूर्ण हुने खतरा उनले औल्याए । हिजोका शासकहरु गुमेको शक्ति पुनर्स्थापित गर्ने कसरतमा रहेको भन्दै अध्यक्ष दाहालले कम्युनिस्टहरुबीच एकता आवश्यक रहेको उल्लेख गरे ।