प्रधानमन्त्री बन्ने रणनीतिमा प्रचण्डको भारत भ्रमण
काठमाडौँ । चारदिने भारत भ्रमणमा निस्केका पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबारदेखि राजनीतिक भेटवार्ता गर्दैछन् ।
प्रचण्डले आज साढे १२ बजे भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ताको तयारी गरेका छन् भने शनिबार सोही समयमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भारत भ्रमणमा जानुअघि प्रचण्डले आफ्नो भ्रमण राजनीतिक नभएको दाबी गरे पनि आगामी रणनीति तय गर्न नै प्रचण्डले भारत भ्रमण गरेको स्रोतहरूले बताएको छ ।
प्रचण्डको भारत भ्रमणलाई विश्लेषकहरूले फेरी प्रधानमन्त्री बन्ने रणनीतिअन्तर्गत गरिएको दौडधुपको रुपमा अर्थ्याएका छन् ।
भारतमा फेरी पनि नरेन्द्र मोदी नै प्रधानमन्त्री बन्ने सम्भावना भएकाले दाहाल मोदीसँग सहकार्य गरेर अगाडी बढ्नुपर्ने निष्कर्षमा पुगेका छन् । सोही कारण मोदीसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै दाहाल भारत भ्रमणमा निस्केको चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ ।
आफु प्रधानमन्त्री बन्दासम्म मोदी पनि भारतको प्रधानमन्त्री भइरहने अनुमान गरेरै प्रचण्डले भारत भ्रमण तय गरेको स्रोतहरूले जनाएको छ ।