प्रचण्डलाई सरप्राइज अफर: खुमलटारमा चर्चा, नेकपामा हंगामा - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रचण्डलाई सरप्राइज अफर: खुमलटारमा चर्चा, नेकपामा हंगामा



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवाद झनै कठिन मोडमा जाने देखिएको छ । विवाद स्थायी कमिटि बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट तत्काल राजिनामा दिनुपर्ने माग बहुमत सदस्यले राखेपछि तिब्र बनेको विवादले अहिले भने फरक मोड लिएको छ ।

विवाद मिलाउनकै लागि भएका अनेकौँ प्रयास बालुवामा पानि हालेजस्तै भएका छन् । अध्यक्षद्वय ओली र प्रचण्ड हप्तौँदेखि लगातार वार्ता गरेपनि न त निकास नै निस्किएको न त पार्टी विभाजनको संकट नै टरेको छ ।

विवाद चलिरहेकै बेला अहिले भने नेकपाको किचलो फरक मोडमा पुगेको छ । पार्टीको पछिल्लो सचिवालय बैठकपछाडी अध्यक्षद्वय ओली र प्रचण्ड हठात् राष्ट्रपति निवास पुगेको खबर बाहिरियो । प्रचण्ड पनि ओलीसंग शितलनिवास पुगेपछि पार्टीमा खैलाबैला नै भयो । वरिष्ठ नेता माधव नेपाल समूहमा त भूइंचालो नै आयो ।

राष्ट्रपति निवासमा पुगेपछि पार्टीभित्रको विवादले छुट्टै आकार लिएको छ । एकातिर माधव नेपाल समूह प्रचण्डसंग ससंकित बनेको छ भने प्रचण्ड- नेपाल गठबन्धनमा संसय पैदा भएकोमा बालुवाटारमा खुसियाली छ ।

तर प्रचण्डले भने आफूलाई परिवन्धमा पारेर शीतलनिवास लागिएको बताएका थिए । त्यसलगत्तै प्रचण्डले गम्भीर खुलासा गरेका छन् ।

अध्यक्ष प्रचण्डले आफूनिकट नेताहरूलाई खुमलटार बोलाएर सोमबार शीतलनिवासबाट आएको अफरको खुलासा गरेका हुन् । प्रचण्डले नेताहरूलाई बनाएअनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र अर्का अध्यक्ष केपी शर्मा ओलीले उनलाई मदन भण्डारीको विचार (जबज)को उत्तराधिकारी बन्न अफर गरेका थिए । त्यतिमात्र होइन प्रचण्डले जबज स्वीकार गरेको खण्डमा उनलाई एकल अध्यक्ष दिने समेत प्रस्ताव गरिएको खुलेको छ ।

प्रचण्डले भने हरेक पटक मदन भण्डारीको प्रसंशा गरेपनि जबजमा फर्किन नसक्ने अडान पहिलेदेखि नै लिइरहेका छन् । प्रचण्ड जनताको बहुदलीय जनवादबाट तर्किएर हिँडे पनि शीतल निवासले उनलाई औपचारिकरूपमै उत्तराधिकारी बन्न प्रस्ताव गरेको छ ।

नेताहरूसंगको भेलामा प्रचण्डले जबज मान्न तयार भए पार्टी अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएको ब्रिफिङ गरेका हुन् ।

पार्टी स्थायी कमिटी सदस्य लिलामणि पोखरेल पनि अध्यक्ष प्रचण्डलाई जबजको नेता बन्न प्रस्ताव आएको बताएका छन् । भेलामा प्रचण्डले जबज मान्ने अस्वीकार गरेको पोखरेलले बताएका छन्।

स्रोतका अनुसार शीतल निवासमा बोलाएर राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सैद्धान्तिक, वैचारिक कार्यदिशा जबज हुनुपर्ने भन्दै लबिङ तीव्र पारेकी छन् ।

“जबज मान्न तयार हो भने पार्टी अध्यक्ष बनाउन हामी तयार छौं भनेर प्रस्ताव आएको रहेछ, ट्र्यापमा पनि पार्न खोजिएको रहेछ,” पोखरेलले भने, “प्रचण्डले पछाडि फर्कने अवस्था नरहेको भन्दै इन्कार गर्नुभएछ ।”