प्रचण्डको आरोप: संविधान संशोधनमा एमाले बाधक बन्यो
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का कारण संविधान संशोधन हुन नसकेको आरोप लगाएका छन् ।
बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सबै जनताको समान अधिकारका लागि आफूले दुईपटक संविधान संशोधन प्रस्ताव अघि बढाए पनि एमालेका कारण सफल हुन नसकेको आरोप लगाएका हुन् ।
उनले अहिले पनि एमालेको केपी ओली गुट मधेस, महिला, जनजातिलगायत मुलुकको परिवर्तनको विरोधी भएको टिप्पणी गरे । परिवर्तनको रक्षा गर्दै जनताको हक, अधिकार स्थापित गर्नका लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको उनको भनाइ छ ।
यसअघि पनि आफूहरूले प्रतिगमनलाई असफल बनाएको र परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वलाई बालुवाटारबाट निकालेर बालकोट पुर्याएको भन्दै प्रचण्डले जस्तोसुकै मूल्य चुकाएर भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रतिबद्धता जनाए ।
प्रचण्डले अब पार्टीलाई केन्द्रदेखि स्थानीय तहसम्म बलियो बनाउँदै लैजाने बताए । अहिले पार्टीको झन्डै आठ लाख क्रियाशील सदस्य पुगेको र छिट्टै १० लाख पुग्ने उनले उल्लेख गरे ।