प्रचण्डले गरे नयाँ योजनाबारे खुलासा
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू कर्णाली प्रदेशको सरकार परिवर्तनपछि अब गण्डकी, लुम्बिनी र संघीय सरकार बदल्ने अभियानमा रहेको खुलासा गरेका छन् ।
उनले कर्णाली प्रदेशमा जस्तै गण्डकी र लुम्बिनी प्रदेश सरकार र संघीय सरकारसमेत बदल्ने तयारी भइरहेको एक कार्यक्रममै खुलासा गरेका छन् ।
प्रचण्डले आफूहरु अहिले सरकार गठन र पुनर्गठनको एउटा ठूलो प्रक्रियामा रहेको हुँदा अहिले आफू अत्यन्त व्यस्त रहेको उनको भनाइ छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने–‘कर्णालीमा के समस्या थियो र हिजो कहाँ गएर टुंगियो यहाँहरुले थाहा पाइसक्नुभएको छ, अब अस्तिमात्रै गण्डकी प्रदेशमा अविश्वास प्रस्ताव दर्ता भएको छ र बहुमतले सरकार परिवर्तनका निम्ति अर्को मुख्यमन्त्रीको नामसहित प्रस्ताव प्रदेश सभामा दर्ता भइसकेको छ, हामीले समर्थन फिर्ता पनि लिइसकेको छौं ।’
उनले लुम्बिनी प्रदेशमा पनि सरकार परिवर्तनका निम्ति करिब बहुमत सदस्यको हस्ताक्षर संकलन भइ नै सकेको जानकारी दिए ।
सरकार गठन पुनर्गठनसम्बन्धी प्रक्रिया तथा वार्ताहरुमा आफू निकै व्यस्त रहेको पनि उनको भनाइ छ ।