वाईसीएललाई प्रचण्डको निर्देशन: इँटको जवाफ पत्थरले दिने गरी तयारी गर्नु - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

वाईसीएललाई प्रचण्डको निर्देशन: इँटको जवाफ पत्थरले दिने गरी तयारी गर्नु



काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले ‘जनताको वर्ग सङ्घर्ष’मा चुनौती खडा गर्नेहरूलाई जवाफ दिने गरी तयारी शुरू गर्न वाईसीएल र विद्यार्थीलाई अपील गरेका छन्।

माओवादीको देशभरका स्थानीय तहको सम्मेलन उद्घाटन समारोहलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी विरुद्ध आउने दिनमा विभिन्न व्यवधान खडा गरिने बताए। त्यसका लागि तयारी गर्न उनले देशभरका कार्यकर्तालाई अपील गरे।

“हाम्रो विरुद्ध आउने दिनमा विभिन्न किसिमका व्यवधान खडा गर्न खोजिनेछ,” अध्यक्ष दाहालले भने, “म युवा कमरेडहरूलाई खास गरी वाईसीएल, विद्यार्थीलाई अपील गर्न चाहन्छु, जनताको विजय यात्रामा या जनताको वर्ग सङ्घर्षको महान अभियानमा हाम्रा विरुद्ध चुनौती खडा गर्न खोजिन्छ भने इँटको जवाफ पत्थरले दिने गरी तयारी गरौं।”

उनले माओवादी आन्दोलनबाट प्राप्त उपलब्धिलाई निस्तेज गर्न खोजिएको जिकिर गरे। “माओवादी आन्दोलनलाई निस्तेज पार्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय षड्यन्त्र भइरहेका छन्, यसलाई चिर्ने चुनौती छ,” दालहाले भने, “यो एउटा नयाँ अवसर र एउटा नयाँ चुनौतीका बीचमा हामी खडा छौं, हाम्रो पार्टी खडा छ। एकताबद्ध भएर गएमा यो चुनौतीलाई जित्न सक्छौं।”

नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशनलाई इङ्गित गर्दै दाहालले माओवादीलाई अन्य पार्टीभन्दा फरक बनाउनुपर्नेमा जोड दिए। “हाम्रो पार्टी बुर्जुवाहरूको जस्तो पार्टी हुनेछैन। हाम्रो पार्टी क्रान्तिकारी पार्टीकै रूपमा इतिहासमा आफ्नो दायित्व, अभिभारा पूरा गर्ने पार्टी हुनेछ,” दाहालले भने।

एमालेको महाधिवेशनमा विचारको मन्थन नहुने उल्लेख गर्दै दाहालले माओवादीका स्थानीय तहका अधिवेशनमा पनि विचारको मन्थन गर्न आग्रह गरे। “चितवनमा कुम्भमेला जस्तो भएको छ, त्यहाँ विचारको मन्थन हुँदैन, त्यो तथाकथित अधिवेशन मात्रै हो,” दाहालले भने, “हाम्रो सम्मेलन फरक हुन्छ। विचारको मन्थन हुन्छ।”

माओवादीले आज देशभरका स्थानीय तहमा सम्मेलन गर्दै छ। त्यसपछि जिल्ला सम्मेलन र प्रदेश सम्मेलन गर्नेछ। माओवादीको राष्ट्रिय सम्मेलन ११ देखि १३ पुसमा तय गरिएको छ।