पत्नीको स्वास्थ्यमा सुधार आउने अपेक्षा सहित तातोपानी कुण्डमा स्नान गरे प्रचण्डले - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पत्नीको स्वास्थ्यमा सुधार आउने अपेक्षा सहित तातोपानी कुण्डमा स्नान गरे प्रचण्डले



म्याग्दी। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड परिवारसहित म्याग्दीको लोकप्रिय तातोकुण्ड पुगेका छन् । नशा तथा हाडजोर्नी सम्बन्धि रोग निको हुने विश्वास मानिएको तातोपानी कुण्डमा प्रचण्डसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को परिवार पनि पुगेका हुन् ।

अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार आउने अपेक्षासहित तातोपानी पुगेका प्रचण्डले गृहमन्त्रीसँगै कुण्डमा स्नान गरेका थिए । नेपाली सेनाको हेलिकप्टरमार्फत् बिहान ११ बजेट अर्थुङ्गेस्थित श्रीबक्स गुल्ममा अवतरण गरेका प्रचण्ड र थापा परिवारसहित दिउँसो २ बजे गाडीमार्फत् तातोपानी पुगेका थिए ।

विश्राम, पारिवारिक भ्रमण र स्नान गरेर उपचारका लागि प्रचण्ड म्याग्दी आएका उनका स्वकीय सचिव जोखबहादुर महराले बताए । बेनी आउने वित्तिकै दाहालले नेकपाका नेताद्वय गोविन्द पौडेल, हरिकृष्ण श्रेष्ठ लगायत जनप्रतिनिधि र नेता कार्यकर्तासँग अनौपचारिक कुराकानी गरेका थिए । गृहमन्त्री थापा भने प्रशासन कार्यालयमा आयोजित जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालक केन्द्रको उद्घाटन कार्यक्रममा सहभागी भएका थिए ।

टोलीमा गृहमन्त्री बादलकी श्रीमती नैनकला थापा, छोरी र ज्वाईँ, प्रचण्डकी छोरी गंगा दाहाल, स्वकीय सचिव महरा लगायत २४ जना छन् । उनीहरुसँगै तातोपानी कुण्ड अवस्थित वडा सिंगामा जन्मिएका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ पनि आएका छन् । प्रचण्ड पछिल्लो पटक प्रधानमन्त्री हुँदा श्रेष्ठ योजना आयोगका उपाध्यक्ष थिए ।

जिल्लाका विभिन्न प्राकृतिक तातोपानीका पोखरीहरुमा डुबेर उपचार गर्ने बिरामीहरुको भीड लाग्ने गरेको छ । बेनी नगरपालिका–४ स्थित प्राकृतिक तातोपानी कुण्डमा देशका विभिन्न क्षेत्रबाट हाडजोर्नी दुखेको, ग्याष्ट्रिक र छालाका रोगीहरु प्रकृतिक उपचारका लागि आउने गर्दछन् । जिल्लाको नारच्याङ्बेसी, भुरुङ्ग–तातोपानी, रातोपानी, महभीर, दग्नाम, सिङ्गा र मुदी बगरको प्रकृतिक तातोपानीमा बिरामीको ओइरो लाग्ने गरेको छ ।