प्रचण्डमाथि आइलाग्यो अर्को तनाव: पार्टी अध्यक्ष पनि गुम्न सक्ने
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकपछि अर्को तनाव थपिएको छ । माओवादी केन्द्रमै बर्षौं बिताएर एमाले छिरेका नेताहरूले दल खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको केहि दिनमै निर्वाचन आयोगमा अर्को निवेदन परेको छ ।
शुक्रबार आयोगमा परेको निवेदनमा भबिसोर पराजुली भन्ने व्यक्तिले माओवादी केन्द्र नै आफ्नो भएको दाबी गरेका छन् । उक्त दाबीमा पुष्पकमल दाहाल, रामबहादुर थापा लगायतलाई आफूहरूले माओवादी केन्द्रबाट निश्कासन गरिसकेको उल्लेख गरिएको छ। निवेदनमा ३ जेठ २०७५ मा एमाले प्रवेश गरेका कारण उनीहरूलाई निष्काशन गरिएको उल्लेख छ।
‘मातृका यादव, प्रचण्ड र बदलहरु पार्टी परित्याग गरेको हुनाले विधिवत रुपमा एकताका मुख्य घटक र सोही पार्टीलाई निरन्तरता दिदै आएकोले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) स्वतह हाम्रो बाहेक अरु कसैको हुन नसक्ने हुँदा निर्वाचन आयोगले भबिसोर नेतृत्वको वैधानिक पार्टी नेकपा (माओवादी केन्द्र)लाई प्रचलित ऐन, कानुन बमोजिम निर्वाचन आयोगको क्षेत्र अधिकार भित्र रहेको अवस्थामा आधिकारिक नेकपा (माओवादी केन्द्र) को रुपमा रहेको कुरालाई प्रकृया र विधि अनुसार नै आधिकारिक राजनीतिक दलको रुपमा रहेको प्रमाणका आधारमा दलको मान्यता घोषणा गरी पाउँ।’ निवेदनमा भनिएको छ ।
उक्त निवेदन निर्वाचन आयोगमा १५४९ दर्ता नम्बरमा दर्ता भएको छ । ऋषि कट्टेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष आफू भएको दाबी सहित सर्वोच्च अदालतमा दर्ता गरेको रिटमाथि सुनुवाई गर्दै २३ फागुन २०७७ मा अदालतले साविक एमाले र माओवादी केन्द्र ब्युताँएको थियो।
भबिसोर पराजुलीले निर्वाचन आयोगमा दिएको निवेदनको पूर्णपाठ
श्री निर्वाचन आयोग कान्तिपथ, काठमाडौं
विषयः भबिसोर पराजुली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई नै राजनीतिक दलको मान्यता दिलाई पाउँ भन्ने बारे।
महोदय,
उपरोक्त सम्बन्धमा नेपालको शान्तीपूर्ण संघर्ष तथा क्रान्तिको नेतृत्व समेत गरी गणतान्त्रिक संविधान तयार गर्नमा अग्रणी भूमिका खेलेको पार्टी नेपाल कम्युनिट पार्टी (माओवादी केन्द्र) आधिकारिक रुपमा घोषणा गर्दा दशवटा माओवादी पार्टी एकता भनिएपनि मुख्यत निर्वाचन आयोगमा दर्ता भएका तिनवटा पार्टी एकीकरण भएका थिए । त्यसमध्य पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको एकीकृत नेकपा (माओवादी), भबिसोर नेतृत्वको नेपाल गौरवशाली पार्टी, मातृका यादव नेतृत्वको ने. क. पा. )माओवादी) बीच सम्मानजनक एकता भएको र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को नेपाल गौरवशाली पार्टी एक आधिकारिक प्रमुख घटक भएको यो सत्य तथ्य नै हो । यी तिनवटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका दलविच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को एकताको महाधिवेशनको आधिकारिक निवेदन मिति २०७३ कार्तिक २४ गते निर्वाचन आयोगमा कानुन बमोजिम पेश गरेपछि सो एकतालाई आधार बनाई निर्वाचन आयोगले नै कानुनी मान्यताको रुपमा स्वीकार गरी हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई निर्वाचन आयोगले मिति २०७३ मंसिर ३० गते आधिकारिक निर्वाचनमा जान राजनीतिक दलको रुपमा मान्यता दिएको प्रमाण आयोगमा सुरक्षित नै छ र चुनाव चिन्ह समेत हाम्रो पार्टीलाई गोलाकार मित्र हशिया हथौडा दिएको कुरा निर्विवाद नै छ । सम्मानजनक एकता निर्णाण गर्ने एकताको प्रमुख घटकको सहमति विना नै पार्टी नीति, विधान, विधि विपरित तत्कालिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेकाले
हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले कारवाही समेत गरी २०७५ जेठ ३ गते एमाले पार्टीमा प्रवेश गरेका प्रचण्ड तथा बादल लगायतलाई पार्टीबाट निष्काशन गरिएको हो ।
हामीले हाल नेतृत्व गरि विकास गरिरहेको पार्टी नै वैधानिक रुपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हो । यसमा कुनै विवाद र शंका नै छैन एमाले पार्टी संग गएकाहरुलाई एकता प्रकृयामा आएको प्रमुख घटक शक्तिलाई धोका दिएपछि सहिद परिवार बेपत्ता परियार तथा लड़ाक र क्रान्तिकारी शक्तिहरुको तथा नेताहरुको सम्मान र व्यवस्थापन गर्दै त्यही पुरानो नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विचार, भावना र इतिहासको निरन्तरता दिदै आएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्दं) को पार्टी अध्यक्ष भबिसोर पराजुली भएको संलग्न हाम्रो पार्टीको निर्णय र माइनेटहरुले पुष्टि गर्ने नै छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) परित्याग गरी एमाले पार्टीमा गएका प्रचण्ड बादल लगायतका नेताहरुलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को नेता र नेतृत्व किमार्थ हुन सक्दैनन र कानुनी रुपमा फेरि पनि माओवादी केन्द्र प्रचण्डले दावी र वादलले खारेजीको दावी गर्न खोज्नु स्वतह गैर कानुनी कुरा हो । सरकारमा पुगेर मन्त्रीको संख्यामा कुरा नमिली पुनः फुटेको एउटा गुट र झुण्डले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को मान्यता पाउने कुरा गैर कानुनी ठहर छ नै ।
उपरोक्त व्यहोरा र प्रमाणका आधारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आधिकारिक नेतृत्वको मातृका यादव, प्रचण्ड र वादलहरु पार्टी परित्याग गरेको हुनाले विधिवत रुपमा एकताका मुख्य घटक र सोही पार्टीलाई निरन्तरता दिदै आएकोले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) स्वतह हाम्रो वाहेक अरु कसैको हुन नसक्ने हुँदा निर्वाचन आयोगले भविसोर नेतृत्वको वैधानिक पार्टी नेकपा (माओवादी केन्द्र)लाई प्रचलित ऐन, कानुन बमोजिम निर्वाचन आयोगको क्षेत्र अधिकार भित्र रहेको अवस्थामा आधिकारिक ने क पा (माओवादी केन्द्र) को रुपमा रहेको कुरालाई प्रकृया र विधि अनुसार नै आधिकारिक राजनीतिक दलको रुपमा रहेको प्रमाणका आधारमा दलको मान्यता घोषणा गरी पाउँ ।
मितिः २०७८ असार २५ गते
निवेदक
भबिसोर पराजुली
अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)