चिनियाँ मन्त्रीलाई प्रचण्डले बताए नेकपा एकता हुने अन्तिम शुत्र - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

चिनियाँ मन्त्रीलाई प्रचण्डले बताए नेकपा एकता हुने अन्तिम शुत्र



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेको चिनियाँ टोली प्रचण्डलाई भेट्न सोमबार आज प्रचण्ड निवास खुमलटार पुगेको हो । प्रचण्डसँग डेढघण्टा लामो छलफलका क्रममा चिनियाँ टोलीले पार्टी एकाताबारे जिज्ञासा राखेको बताइएको छ।

छलफलमा चिनियाँ उपमन्त्री यचौले उक्त विषय नेपालको आन्तरिक मामिला भएको र त्यसको आन्तरिक रुपमै समाधान हुनुपर्ने भएपनि चीन नेपालमा राजनीतिक अस्थिरता नहोस भन्दै चासो ब्यक्त गरेका थिए ।

नेपालमा स्थिरता होस् भन्ने आफूहरुको चाहना भएको उनले जोड दिएको बताइएको छ । ‘नेपालका आन्तरिक मामिला आन्तरिक रुपमै समाधान होस् भन्ने चीनको धारणा रहेको र सो मान्यतालाई आफूहरुले जहिले पनि सम्मान गर्छौँ’ येचौले भनेका थिए ।

तर चीन छिमेकी भएको र नेपाल फेरी राजनीतिक अस्थिरतामा फस्ने हो की भन्ने आफ्नो चिन्ता रहेको बताएका थिए ।

चिनियाँ टोलीसँगको भेटमा प्रचण्डले आफूहरूको कारणले अहिलेको अवस्था सृजना नभएको बताएका थिए ।

‘हाम्रो कारणले अहिलेको यो अवस्था आएको होइन। प्रधानमन्त्री ओलीलाई हामीले सरकार सञ्चालनमा सहयोग नै गर्दै आएका हौं तर प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्रीले संसदमाथि प्रहार गर्नुभयो,’ प्रचण्डका भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘संसद पुनस्र्थापना भयो भने त्यो मिलनबिन्दू बन्न सक्छ।’

स्रोतका अनुसार चिनियाँ टोलीले अहिले नेकपामा देखिएको विवादको अझै पनि कुनै मिलनविन्दु हुनसक्छ कि सक्दैन भन्ने जिज्ञासा पनि राखेका थिए।

जवाफमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन फिर्ता लिए मात्रै नेकपाको विवाद समाधान हुने बताएका छन् । उनले संसद पुर्नःस्थापना भए नेकपा फूटबाट जोगिने बताएका हुन् ।

आइतबार नेपाल आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि अलग–अलग भेटवार्ता गरेको थियो ।

प्रधानमन्त्री ओलीसँगकाे भेटमा चिनियां कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीले राष्ट्रपति सी चिनफिङले नयां वर्ष २०२१ को शुभकामना सन्देश सुनाएका थिए भेटमा दुवै नेताबीच नेपाल–चीन सम्बन्ध तथा नेकपा र चिनियां कम्युनिष्ट पार्टीबीचको सम्बन्धबारे समेत छलफल भएको थियो ।

सो टोलीले आजै नेकपाका अर्का अध्यक्ष माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेको छ ।