प्रचण्ड, वामदेव र सिटौलाको गोप्य बैठक - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

प्रचण्ड, वामदेव र सिटौलाको गोप्य बैठक



काठमाडौँ – पछिल्लो समय नेपाली राजनीतिमा विभिन्न घटनाक्रम देखिने क्रम जारी छ ।अझै नेकपाभित्रका कैयौँ घटनाले चर्चा पाउने मात्र होइन देश नै तताउने गरेका छन् । आज भएको एउटा घटनाले पनि नेकपाभित्रको राजनीति तातेको छ ।

विभिन्न आशङ्का र त्रासले हेरिएको आजको घटनाको प्रकृति पनि अलिक फरक छ । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा आज बिहानै नेकपाकै प्रभावशाली नेता वामदेव गौतम र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला पुगेका छन् । र यो घटनाले आजको राजनीतिक माहोल तताउने निश्चित छ ।

उनीहरूबीच खास के विषयमा छलफल भयो भन्ने जानकारी दिइएको छैन तर समसामयिक राजनीतिक विषयमा छलफल भएको भने बताइयो ।

बैठकमा नेता गौतमले प्रचण्डकै नेतृत्वमा सरकार बनाउने कुरा भएको स्रोतले जनाएको छ । अहिले राजनीतिमा देखिएको विभिन्न घटनाक्रमले कतिखेर के हुन्छ भन्ने अन्योल भैरहेको बेला यो भेटले एउटा छुट्टै अभियान सिर्जना गर्न सक्ने अनुमान गरिएको छ ।

ओली र प्रचण्डबीच भएको सहमतिलाई लिएर चर्किएको माहोलसँग जोड्ने हो भने यो भेटले अर्कै अर्थ राख्छ तर अहिले त्यहाँसम्म नपुगौँ ।

तर, राजनीतिमा कृष्णप्रसाद सिटौलाको सक्रियतालाई अर्थपूर्ण रूपमा लिएने गरिन्छ । चुनाव अगाडि तत्कालीन एमाले र माओवादी केन्द्रलाई फुटाउन शेरबहादुर देउवाले सिटौलालाई विशेष सूत्रको रूपमा प्रयोग गरेका थिए भने द्वन्दकालमा गिरिजाप्रसाद कोइरालाले माओबादीसँग वार्ता र सम्पर्क गर्ने विशेष दूत नै बनाएका थिए ।