ओलीले आफ्नो सरकार विघटन गरे, संसद होइन: प्रचण्ड - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

ओलीले आफ्नो सरकार विघटन गरे, संसद होइन: प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन नभएको दावी गर्दै ओली सरकार विघटन भएको बताएका छन् ।

जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मन्त्रिपरिषदको बैठकमार्फत प्रतिनिधिसभा भंग गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नासाथ ओली नेतृत्वको सरकार भंग भएको प्रस्ट पारे ।

उनले प्रधानमन्त्रीलाई संसद भंग गर्ने कुनै अधिकार संविधानले नदिएको दावीसमेत गरे । ‘संविधानविद्ले पनि त्यो कदम असंवैधानिक र अलोकतान्त्रिक नै छ भनेका छन्,’ उनले भने, ‘विघटन भएको सरकार हो, संसद होइन भनेर हामी सर्वोच्च अदालतमा पनि जान्छौँ ।’

उनले न्यायालयप्रति आफूहरुले भरोसा गरेको र संविधानको मर्मलाई न्यायालयले आत्मसात् गरेर न्याय दिने विश्वास गरेको सुनाए ।