प्रचण्डले भने: क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भयो
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भएको बताएका छन् । उनले पेरु कम्युनिस्ट पार्टीका नेता गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भएको बताएका हुन् ।
गोन्जालोको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले गोन्जालो वैचारिक निष्ठा, त्याग र समर्पणका प्रतिक रहेको बताएका छन् । ‘पेरु कम्युनिस्ट पार्टीका नेता कमरेड गोञ्जालोको निधनले क्रान्तिको एउटा मोडेलको तत्कालका लागि अन्त्य भएको छ । वैचारिक निष्ठा, त्याग र समर्पणका प्रतिक बनेका कमरेड गोञ्जालोप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु’, प्रचण्डले भनेका छन् ।
पेरुको क्रान्तिकारी समूह साइनिङ पाथका संस्थापक गोन्जालोको जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा निधन भएको हो । उनी सन् १९९२ देखि आतंकवाद र देशद्रोहको अभियोगमा आजीवन काराबास भोगिरहेका थिए ।
पेरुमा वामपन्थी रास्ट्रपति पेद्रो कास्टियो आएपछि उनको रिहाईको माग विश्वभरका वामपन्थीबाट हुँदै आएको थियो । पेरुमा एक दशक भन्दा लामो समय माओवादी गुरिल्ला समूह र पेरुको सुरक्षाकर्मीबीच चलेको युद्धको क्रममा झण्डै ७० हजार मानिस मारिएको वा बेपत्ता भएका थिए ।
गोन्जालोलाई २८ वर्ष अगाडि सन १९९२ को सेप्टेम्बर १२ मा राजधानी लिमाबाट पक्राउ गरिएको थियो । गएको जुलाईमा उनको स्वास्थ्यमा समस्या देखिएको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।
गोन्जालोको जन्म पेरुको दक्षिणी तटीय क्षेत्रमा रहेको मोलेन्दो बजार नजिकै सन् १९३४ को डिसेम्बरमा भएको थियो । आमाको निधन भएपछि उनलाई एक धनी व्यक्तिले हुर्काएका थिए ।