सरकारले पुर्णता नपाउँदै प्रचण्डले गरे गठबन्धन भत्किने संकेत
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धन भत्किने संकेत गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारले पूर्णता नपाउँदै प्रचण्डले गठबन्धन भत्किने संकेत गरेका हुन् ।
प्रचण्डले गठबन्धन भत्काउन अनेक षड्यन्त्र भइरहेको खुलासा गरेका छन् । उनले प्रतिक्रियावादीहरू यसमा लागिरहेको आफूले सुचना पाएको समेत बताएका छन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारलाई झण्डै दुईतिहाइ बहुमत नजिक पुर्याएपछि प्रतिक्रियावादीहरूले यसलाई नसोचेको कुरा भएको ठान्दै सत्तारुढ दलबीचको गठबन्धनलाई अझै पनि भत्काउने षड्यन्त्र भइइरहेको प्रचण्डको भनाइ छ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसका अवसर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिगमनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई बचाउने प्रयास जारी रहे पनि अर्कोतिरबाट त्यसलाई टुटाउने प्रयास भइरहेको बताए ।
प्रचण्डले संसद विघटनविरुद्ध एकै ठाउँ उभिएका एमाले नेता भीम रावलको राजीनामा प्रकरण पनि सत्ता गठबन्धनलाई भत्काउने षड्यन्त्र भएको जिकिर गरे ।
‘संसद विघटनविरुद्धको गठबन्धनमा राम्रो भूमिका खेलेका र काम गरेका साथीहरू पनि ढले,’उनले भने, ‘त्यो त्यत्तिकै ढलेको होइन । त्यहाँभित्र गम्भीर षड्यन्त्र थिए । त्यति गरेर पनि गठबन्धन टुटाउन नसकेपछि देउवा नेतृत्वको सरकारलाई बहुमत आउन नदिन ठूलो कसरत भयो। ’
प्रचण्डले एमाले अध्यक्ष केपी ओली इतिहासमा नराम्रोसँग पछारिए पनि कमजोर ठानी हाल्ने अवस्था नरहेको बताए । सत्ता गठबन्धनमाथि जनताको पक्षमा दिनदिनै केही काम गरेर देखाउने चुनौती रहेको बताउँदै उनले मन्त्रीहरूलाई लापर्बाही गर्ने कुनै छुट नभएको बताए ।