माओवादीको भन्दा एमालेको चिन्ताले सकिए प्रचण्ड - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

माओवादीको भन्दा एमालेको चिन्ताले सकिए प्रचण्ड



काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै पार्टी माओवादी केन्द्रको भन्दा नेकपा एमालेको बढी चिन्ताले सताउन थालेको छ । माओवादी केन्द्रको संगठनदेखि भातृसंगठनसम्म विभिन्न लफडा परिरहेका छन् तर प्रचण्डले भने एमालेकै चिन्ताका भाषण गर्न थालेका छन् ।

अहिले माओवादीका नेताहरू अवसरवादी भएको र विलासी भएको आरोप लागिरहेको छ । प्रचण्ड आफैले पार्टीमा अवसरवाद हाबी भएको भन्दै पार्टी नै विघटन गर्नुपर्ने बताउंदै आएका छन् । तर पार्टी बनाउने र पार्टीलाई सक्रिय बनाउने भन्दा धेरै उनले एमालेकै बखान गरेर समय बिताउने गरेका छन् ।

सोमबार पार्टीनिकट नेपाल बुद्धिजिवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले एमालेकै कुरा गरेर भाषण सकाए । अहिले एमालेमा विचार नभएको समेत उनले दावी गरे । मदन भण्डारीको ठाउँमा ओलीलाई स्थापित गर्न लागेको आरोप उनको छ । ‘एमालेमा अहिले विचार छैन्, सूर्य चिन्ह छ, जबज छ,’ प्रचण्डले भने, ‘मदन भण्डारी छन् । अहिले मदनभण्डारीको ठाउँमा ओलीलाई बनाउन खोजेका छन् ।’

अबको मुख्य प्रतिस्पर्धा ओलीसँगै हुन बताउँदै उनले ओलीलाई माक्र्सवाद विरोधी करार गर्ने व्यवस्थित योजना ल्याउन पनि पार्टीनिकट बुद्धिजिवीहरुलाई आग्रह गरे। ‘ओलीको विचार के कति कारणले मार्क्सवादविरोधी छ भन्ने कुरा हामीले प्रष्ट पारेर तलसम्म जानुपर्ने छ,’ उनको आग्रह छ, ‘माओवादीले लिएको विचार सही छ भन्ने कुरा तथ्य तथ्यांकसहित, विचार, अन्तरक्रियासहित स्थापित गर्नुपर्‍यो ।’

एमालेभित्र विचारशील भनेर चिनिएका ‘१० भाइ’ अहिले एमाले ब्रान्ड र सूर्य चिन्हमा गएर आत्मसर्मपण गरेको पनि प्रचडले आरोप लगाए । कतिपयले आफूलाई रुँदै हिँडेको र सक्किएको प्रचारवाजी गरे पनि आफू कुनै आवेगमा नभएको बताएका छन् ।

उनले आफू नाअत्तिएको भन्दै बाहिर विभिन्न हल्ला फैलिएको बताए । ‘बाहिर अहिले एकथरी लौ प्रचण्ड सकियो, रुँदै हिँड्यो भनेका छन्, त्यो गलत हो,’ उनले भने, ‘म आवेगमा पनि छैन । म आत्तिएको पनि होइन ।’ उनले भने ।

आफूले माओवादी विघटन गरे पनि हुन्छ भन्ने कुरा पार्टी थप बलियो बनाउने अर्थमा भनेको पनि प्रचण्डको भनाइ छ। ‘नत्र माओवादी विघटन गरे हुन्छ भन्छु नि कहिलेकाँही, त्यो सशक्त पार्टी गठन गर्नुपर्छ भनेको हो,’ उनको भनाइ छ, ‘मैले कहिलेकाँही एक्लै भइन्छ कि क्या हो भन्छु नि । म एक्लै भएँ भनेको होइन । गुट बन्नु हुँदैन भनेको हो । गुट बने त पार्टी सकिहाल्छ नि ।’

आउने चुनावमा माओवादी एक नम्बर पार्टीमा स्थापित हुने दावी गर्दै प्रचण्डले केही ठूला नेता माओवादीमा फर्किनँ लागेको दावी गरे । र, केही पार्टीसँग एकीकरणको पनि कुरा चलेको बताए । ‘माओवादीमा ठूला-ठूला मान्छे फर्किँदै छन् तर म अहिले नाम भन्दिनँ,’ प्रचण्डले भने, ‘अहिले एउटा पार्टीसँग एकताको कुरा चलिरहेको छ । म त्यसका लागि अहिले वार्ता गर्न जाँदैछु ।’